युक्रेनमाथि एकैपटक जल, स्थल र हवाई आक्रमण, १३७ जनाको मृत्यु

युक्रेनमाथि एकैपटक जल, स्थल र हवाई आक्रमण, १३७ जनाको मृत्यु



किभ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिण तीनै दिशाबाट पूर्ण क्षमताको सैन्य कारवाही गरेको छ । रुसले गरेको आक्रमणमा परी हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताए ।

रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ । आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ । आक्रमण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि विष्फोट भएको नयाँ रिपोर्ट प्राप्त भएको छ । युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको राष्ट्रपति पुटिनको भनाई छ ।

साथै युक्रेन नव-नाजीहरुले सञ्चालन गरेको आरोप समेत पुटिनको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा जंगी कानून लागू भएको घोषणा गरिएको छ । रुसमाथि अमेरिका र बेलायतले नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जसमा बैंकहरूमा रहेको सम्पत्ति रोक्का गरिने छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमाथि हतारमा गरिएको आक्रमणको रुसले महँगो मूल्य चुकाउनु पर्ने बताए ।