संसद बैठक अघि नै कांग्रेस–एमाले सहमति !

संसद बैठक अघि नै कांग्रेस–एमाले सहमति !



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज पनि छलफल हुँदैछ । आफ्ना माग पूरा गर्न सत्तारुढ कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएपछि एमाले पनि एमसीसी पारित गराउन सकारात्मक देखिएको छ ।

आज पनि सहमतिको प्रयासमा छलफललाई निरन्तरता दिन लागिएको एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले जानकारी दिए । हिजो साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमालेका नेताहरुले बालकोट पुगेर आन्तरिक छलफल समेत गरेका छन् ।

एमालेको सहयोगमा एमसीसी पारित गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएपछि एमालेले संवादलाई तीब्रता दिएको हो । पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवा केही दिनभित्रै एमालेको समर्थनमा एमसीसी पारित गर्ने तयारीमा छन् ।

आज संसद बैठकअघि नै प्रधानमन्त्री देउवाले एमालेसँग सहमतिको तयारी गरेको जनाइएको छ । आजको छलफलपछि देउवा नेतृत्वको सरकारलाई एमालेले समर्थन मात्रै गर्ने वा सरकारमा पनि सहभागी हुने भन्ने टुंगो लाग्ने छ । तर प्रदेश सरकारमा भने एमाले सहभागी हुने मोटामोटी तयारी भएको जनाइएको छ ।

यद्यपि यसलाई सार्वजनिक गरिसकिएको छैन । यस्तै एमालेले कारबाही गरे पनि सभामुखले सदर नगरेका १४ सांसदमाथिको कारबाहीको सूचना जारी गराउन प्रधानमन्त्रीले साथ दिने बचन दिएको बुझिएको छ ।

हिजो दिउँसो संसद भवनस्थित एमाले संसदीय दलका नेता ओलीको कार्यकक्षमा भएको छलफलपछि साँझ बालुवाटारमा भएको वार्ता सकारात्मक भएको थियो । अब एमालेको समर्थनमा एमसीसी पारित गर्ने र प्रदेशसम्मै सत्ता गठबन्धन परिवर्ततन हुनसक्ने एमाले उपाध्यक्ष नेम्वाङको भनाइ छ ।