प्रचण्डको दोहोरो चरित्र गैरजिम्मेवारिको पराकाष्ठा

प्रचण्डको दोहोरो चरित्र गैरजिम्मेवारिको पराकाष्ठा



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार विरुद्ध तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सात महिना अघि बनेको पाँच दलिय गठबन्धन अन्ततः अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी स्विकार गर्ने कि नगर्ने भन्ने विवादसँगै टुट्ने अवस्थामा पुगेको छ ।

राजनीतिमा गठबन्धनको निर्माण र विघटन स्वभाविक प्रक्रिया हो । राष्ट्रिय मुद्धा र एजेण्डाका आधारमा गठबन्धन बन्नु र भत्कनुलाई सामान्यरुपमा लिनुपर्दछ । लोकतन्त्रमा जनतानै जनार्दन भएकाले समग्र राजनीतिको सु–सञ्चालनमा नेताहरुको भूमिकाको मूल्यांकन भने चुनावमा मतदान मार्फत अभिव्यक्त हुने गर्दछ ।

सात महिना सरकार चलाउदा गठबन्धन सरकारले देश, जनता र लोकतन्त्रका पक्षमा के गर्‍यो या गरेन भन्ने कुराको मुल्यांकन आम चुनाव मार्फत आउने परिणामले देखाउने नै छ । राजनीतिक दलको नेताका रुपमा राष्ट्रिय मुद्धामा कुन नेताले कस्तो अडान लिए या अलमल र द्धेद्ध चरित्र प्रदर्शन गरे भन्ने कुराको लेखाजोखा जनताले गरेकै हुन्छन् । लोकतन्त्रमा नेताको पब्लिक अडिट हुने कुरा नै शास्वत सत्य हो । विशुद्ध विकास सहयोगका नाममा भइरहेको भद्धा राजनीति र मुर्धन्य नेताले देखाएको दोहोरो चरित्र कसैका सामु छिपेको छैन । आफैले गरेको बाचा तोडेर मुलुकको विश्वसनियता माथी नै आँच आउने गरि भएका गतिविधिले नेताको स्तर त प्रष्ट हुन्छ नै त्यसलाई जनताले गर्ने दण्ड र पुरस्कारको भागिदार पनि ऊ स्वयम बन्ने गर्दछ ।

एमसीसी प्रकरणमा खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाबारे अहिले विभिन्न खालका टिकाटिप्पणी सार्वजनिक भइरहेका छन् । त्यसले दाहालको राजनीतिक जीवनमा ल्याउने उतारचढाव पक्कै सहज हुने छैन् । सत्ता गठबन्धनको प्रमुख नेताले सदनमा एमसीसी पेश गर्न सहमति पनि दिने अनि सडकमा कार्यकर्ता ओरालेर विरोध प्रदर्शन गर्न लगाउने दोहोरो चरित्र प्रदर्शन गर्नु गैरजिम्मेवारिको पराकाष्ठानै हो । यस्तो द्धेद्धचरित्रलाई अब राजनीतिक छलाङको आवरण दिएर गरिने ब्याख्यालाइ कसैले पचाउने छैनन् । बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गरेर दाहालले दोहोरो चरित्र प्रदर्शन गरेको भन्ने आरोपलाई सहजै नजरअन्दाज गर्न सकिदैन ।

मुलुकलाई भूराजनीतिको भुमरीमा पारेर जनताको आँखामा छारो हाल्ने र भोटको राजनीतिको भद्धारुप प्रदर्शन गर्ने कृयाकलाप गैरराजनीतिक मात्र होइन राष्ट्रघाती पनि हो । दोषजति अर्कालाइ थोपरेर आफु पानी माथिको ओभानो बन्न खोज्ने नेताको सक्कली अनुहार जनताले पहिचान गरिरहेकै छन् । एक्काइसौं शताब्दिमा सुचनाप्रविधिको भरपुर प्रयोगवाट सुसुचित जनतालाइ झुक्याउछु र राज गर्छु भन्ने द्धिवास्वप्ना अव कसैले नदेखेपनि हुन्छ । देशभित्र जनताले नपत्याउने र अन्तरराष्ट्रियस्तरमा विश्वास गुमाउदै जान थालेपछि जतिसुकै ठूलो राजनेताको छवि निर्माण भएको भए पनि त्यो धुलिसात हुने निश्चित छ । राजनीतिक बेइमानी र दोहोरो चरित्रको प्रदर्शन पटक पटक गरिरहने नेता कसरी राजनेता कहलाउन सक्छ र ?

एमसीसी प्रकरणलाई लिएर भइरहेको भद्धा राजनीति अबचाहि अति भइसक्यो । या त यसलाइ टुगोंमा पुर्‍याउन गठबन्धन तोडेरै भएपनि सहमतिको खोजि गरौ । नभए ताजा जनादेशका लागि जनताकाबीचमा जाउँ । मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दि बनाउने र राजनीतिक नाफाघाटाको जोडघटाउमा अलमल गरिरहने सुविधा कसैले पाउनु हुदैन ।