कांग्रेस र एमालेबीच निरन्तरको वार्ताले गठबन्धनमा तरङ्ग, निर्णायक वार्ताका लागि कांग्रेस नेताहरु बालकोटमा

कांग्रेस र एमालेबीच निरन्तरको वार्ताले गठबन्धनमा तरङ्ग, निर्णायक वार्ताका लागि कांग्रेस नेताहरु बालकोटमा



काठमाडौँ । यो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप निकै बढेको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदनकालागि देउवाले दलहरुसंग वार्ताकालागि दौडधुप बढाएका हुन् । सरकारलाई फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने छ । तर सत्ता गठबन्धनकै दलहरूबिच सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवाद बढाएका छन् ।

देउवासंगको पटक पटकको वार्तामा एमालेले १४ जना सांसद वा सभामुख हटाउने अडान कायम राखेको छ । गत भदौ यताका कुनै पनि संसद बैठक सहज रूपमा चल्न सकेका छैनन् । एमालेको अवरोधले संसद बैठक प्रभावित भइरहेको छ ।

कांग्रेस र एमालेबिचको संवाद बाक्लिएपछि गठबन्धनका दलहरू सशङ्कित बनेका छन् । प्रतिगमन भनेर हटाएको एमालेलाई शक्तिमा ल्याउन नहुने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

तर प्रधानमन्त्री देउवा भने एमसीसीमा गठबन्धनले साथ नदिए गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने तयारीमा छन् । नेकपा एस र माओवादी केन्द्रले संशोधन विना एमसीसी पास नगर्ने अडान दोहोर्एका छन् । यदि गठबन्धनबाट साथ नमिलेको खण्डमा एमालेलाई साथ लिएर अघि बढ्ने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबिच हिजो शुक्रवार भएको भेटमा देउवाले एमसीसीबारे संस्थागत धारणा बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेटम दिएका हुन ।
स्रोतका अनुसार उनले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताएका छन् । आज माओवादीका शीर्ष नेताहरूबिच छलफल हुने जनाइएको छ ।

उता सत्तारुढ दल कांग्रेस र प्रमुख विपक्षी दल एमालेबीच छलफल केहीबेरमा सुरु हुने भएको छ । एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।