अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी

अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी



अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।

ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ । यो वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा १२ अर्ब डलर बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने २.०७ अर्ब डलर गिरावट आएको छ ।

कमोडिटी बिजनेसबाट प्रवेश गरेका अडानी
व्यवसायको दुनियाँमा गौतम अडानी कमोडिटी बिजनेसबाट प्रवेश गरेका थिए । अहिले उनको बिजनेस पोर्ट्स, माइन्स, ग्रिन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ । उनका केही कम्पनीको सेयरमा पछिल्ला दुई वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला तीन वर्षमा भारतका सात विमानस्थलको परिचालन उनको हातमा परेको थियो । उनको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।

२०२० को पूर्वाद्र्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको सेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो ।

साथै, बेन्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका सेयरमा तीव्र गिरावट आउँदा पनि अडानी ग्रिन र अडानी टोटल ग्यासको सेयरमा भारी वृद्धि भएको थियो ।

उता, फेसबुक (अहिले मेटा प्लेटफम्र्स)का सीईओ मार्क जुकरबर्ग धनीको सूचीबाट तल ओर्लेर १३औं नम्बरमा खुम्चिएका छन् । सोमबार उनको नेटवर्थमा ४.३७ अर्ब डलर गिरावट आयो । अब उनको नेटवर्थ ८५.० अर्ब डलरमा खुम्चिन पुगेको छ ।

यो सूचीमा टेस्लाका सीईओ एलन मस्क २३५ अर्ब डलरसहित पहिलो नम्बरमै टिक्न सफल छन् । अमेजोनका जेफ बेजोस दोस्रो र फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नोल्ट तेस्रो अनि माइक्रोसफ्टका बिल गेट्स चौथो नम्बरमा छन् ।