लमजुङमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

लमजुङमा स्थानीय तह निर्वाचनको तयारी तीव्र



लमजुङ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा लमजुङमा निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ। अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५ पुस ०७७ मा प्रकाशित अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा एक लाख २२ हजार आठ सय ६ मतदाता थिए। अहिले नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता थपिएका हुन्। ३१ वैशाख ०७४ मा भएको अघिल्लाे निर्वाचनमा जिल्लामा कुल एक लाख पाँच हजार नाै सय ९२ मतदाता थिए । जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्यनेपालमा १८, सुन्दरबजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ । त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०र१०, दोर्दीमा १६ र मर्स्याङ्दी गाउँपालीकामा २० मतदानस्थल रहेकोे छ ।