सत्ता गठबन्धन बैठक: सुझबुझपूर्ण ढंगले एमसीसी पारित गरेकोमा प्रचण्ड र नेपालले गरे देउवाको प्रशंसा

सत्ता गठबन्धन बैठक: सुझबुझपूर्ण ढंगले एमसीसी पारित गरेकोमा प्रचण्ड र नेपालले गरे देउवाको प्रशंसा



काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोधलाई हटाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सहयोग गरेको भन्दै नेताहरुलाई धन्यवाद दिएका थिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी थिए ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पास भएकोमा नेताहरुले खुसी साटासाट गरेका थिए । बैठकमा प्रचण्ड, नेपाल र यादवसहितका नेताहरुले सुझबुझपूर्ण ढंगले एमसीसी पारित गरेकोमा प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए । साथै प्रधानमन्त्री देउवाले अमेरिकाबाट थप आर्थिक सहायत आउने आश्वासन दिएका थिए । उनले अमेरिकी दातृ निकायमार्फत् अन्य बजेट आउने आश्वासन दिएको स्रोतले जानकारी दियो ।

लामो समयसम्म विवादित बनेको एमसीसी आइतबार सदनबाट पारित भएको थियो । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड अमेरिकी डलर (करिब रु ६० अर्ब) अनुदान सहयोग प्राप्त गर्नेछ ।

त्यसैगरी गठबन्धनकाे बैठकले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदन सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’