फुटको धम्की दिएर महासचिवमा नारायणकाजीको बार्गेनिङ

फुटको धम्की दिएर महासचिवमा नारायणकाजीको बार्गेनिङ



काठमाडौं । महाधिवेशनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दैछ । १३ वर्ष अगाडि माओवादीमा समाहित भएको नेकपा एकता केन्द्रले बखेडा झिकेपछि निर्धारित समयमा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुचारु हुन सकेन ।

माओवादी केन्द्रको आजको बैठकमा पार्टी पदाधिकारीको चयन मुख्य एजेन्डा थियो । पार्टीभित्रको नारायणकाजी समूहले एमसीसीको उग्र विरोध गरेको थियो । नारायणकाजी समूहले एमसीसीको उग्र विरोध किन गरेको रहेछ भन्ने रहस्य विस्तारै खुल्दै गएको छ ।

व्याख्यात्मक टिप्पर्णीसहित एमसीसी संसदले अनुमोदन भएर कार्यान्वयनतर्फ अघि बढिसकेको छ । यसलाई एजेन्डा बनाएर नारायणकाजीले पार्टीभित्र बखेडा झिकेका छन् । केन्द्रीय कमिटीमा छुट्टै प्रस्ताव प्रस्तुत गरेर आफ्नो समूह माओवादी केन्द्रबाट अलग हुनेसम्मको धम्की पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएपछि निर्धारित समयमा केन्द्रीय कमिटीको बैठक बस्न सकेन ।

पार्टीमा महासचिव पद बार्गेनिङका लागि नारायणकाजी श्रेष्ठले यो समयलाई उपयुक्त अवसरका रुपमा लिएका छन् । पार्टी अध्यक्ष प्रचण्डको रोजाईमा नारायणकाजी तेस्रो नम्बरमा पर्छन । प्रचण्डको पहिलो रोजाइको महासचिव वर्षमान पुन (अनन्त) हुन् । उनको स्वास्थ्यले साथ दिएन भने दोस्रो विकल्पका रुपमा जर्नादन शर्मालाई अगाडि सारेका छन् । त्यसपछि मात्र नारायणकाजीलाई महासचिव बनाउन सकिने प्रचण्डले बताउँदै आएका थिए ।

एकता केन्द्र माओवादीमा समाहित भएपछि दोस्रो पोस्ट आफूहरुलाई चाहिने तर्क नारायणकाजी समूहले माग गर्दै आएको छ । दोस्रो कार्यकारी पद भनेको महासचिव हो । महासचिव आफूहरुलाई चाहिने पटक पटकको भेटमा नारायणकाजीले प्रचण्डलाई अवगत गराइसकेका छन् । तर पार्टीभित्र सन्तुलन मिलाउन वर्षमान पुनलाई महासचिव बनाउनुपर्ने बाध्यता प्रचण्डलाई छ । यो उपयुक्त समयमा आफूहरु चुकियो भने पार्टीभित्र महासचिव पद कहिले नपाउने निश्चित जस्तै भएको निष्कर्ष नारायणकाजी समूहको छ ।