स्मृति दिवसमा किसुनजीको सुन्दरीजल जेल डायरी

स्मृति दिवसमा किसुनजीको सुन्दरीजल जेल डायरी



फागुन २० गते, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शीर्षस्थ नेता कृष्णप्रसाद भट्टराईको १२ औं स्मृति दिवस। नेपाली राजनीतिमा त्याग, सदाचार र निष्ठाका लागि विख्यात कृष्णप्रसाद भट्टराईलाई सन्त नेताका रूपमा पनि लिइन्छ।

प्रस्तुत छ उहाँको दैनिक डायरीको अंश 

वि.सं २०२५ साल भाद्र….. गते

‘केही दिनमै वीपी बाबु र गणेशमान जेलबाट छुट्नु हुन्छ। हामी दुईजना दिवानसिंह राई र मलाई भने यहाँबाट भोलि जेल सरुवा गर्ने भएका छन्। छुट्न त हामी दुईजना पनि सक्दथ्यौँ, राजाका तर्फबाट सुवर्णशमशेरको वक्तव्यको समर्थन गरेको जस्तो पारेर संसदीय व्यवस्थाको विरोध र पञ्चायतको समर्थन गरेको एउटा लिखतमा सहीछाप गरे रिहा गर्ने शर्त राखिएको थियो। मैले त्यस्तो कुनै कागज गरेर छुट्ने कुरा स्वीकार गर्न सकिनँ। दिवानसिंह राईले पनि मानेनन्। हामी अहिले बडो विडम्वनापूर्ण स्थितिमा छौँ। हाम्रा नेताहरू कागज गरेर छुट्ने भएका छन् हामीलाई भने अरू कति दिन जेलमैँ बसिरहनु पर्ने हो, थाहा छैन।

यी दिवानसिंह राई पनि गजवकै छन् मानिस। मतवाली राई भए पनि माछा–मासु त्यति धेरै नरुचाउने, रक्सी–चुरोट छुँदै नछुने, शान्त र धीर–गम्भीर स्वभावका यिनी प्रजातन्त्रप्रति धेरै समर्पित छन्। माझकिराँत भोजपुर जिल्लाको छिनामखु भन्ने गाउँका नामूद मानिस ध्यानबहादुर राईका छोरा हुन् यिनी। ध्यानबहादुर राजा महेन्द्रका मन परेका व्यक्ति। बारम्बार बडाहाकिमजस्तो ठूलो प्रशासनिक पदमा नियुक्त गरेर पठाउँछन् महेन्द्रले राई बूढालाई। राजाको त्यस्तो कृपादृष्टि परेका मानिसको छोरो राजाकै जेलमा बसिरहँदा उनलाई अप्ठ्यारै परिरहेको हुनुपर्दछ। ध्यानबहादुरले, त्यसैले, दिवानसिंहलाई छुटाउन धेरै पटक कोशिस गरे तर सकेनन्। राजा, तिम्रो छोरालाई म छोडिदिई हाल्छु, पञ्चायतको समर्थन गरेको कागजमा सहीछाप गर्न लगाऊ न भन्ने, दिवानसिंह त्यस्तो कागजमा सहीछाप गर्न नमान्ने। यसै कुरामा अड्किएर दिवानसिंह पनि मसँगै छन्। कस्ता–कस्ता ठूला भनिएका नेताहरू टिक्न नसकेका समयमा यी राई युवकले जुन साहस र उच्च मनोबल देखाएका छन्, त्यो साँच्चिकै तारिफयोग्य छ।

गणेशमानजीले आज दिउँसोको चिया खाने बेलामा मतिर बडो भरोसाको नजरले हेर्दै भनेको, ‘कृशनजी यस्तै भयो तपाइँलाई साथ दिन नसक्ने भएँ। काङ्ग्रेस अब तपाइँकै सहारामा हुनेछ’ भन्ने वाक्य सम्झिँदा मलाई अलिकति गर्वको अनुभूति हुन्छ र हाँसो पनि उठ्छ। सत्र साल पुस १ गते भएको मेरो गिरफ्तारी, त्यसपछिको लामो कारावास र आज आएर वीपी र गणेशमान सिंहजस्ता मेरो पार्टीका ठूला नेताहरू कारामुक्त हुने निश्चित भइसक्दा पनि मैले भने अझै जेलमैँ बसिरहनु परेको यो अवस्थामा त्रासद–हास्यको तत्व प्रचूर मात्रामा छ भन्ने मलाई लाग्दछ। यसलाई नियतिले मेरो जीवनमाथि गरेको एउटा क्रूर ठट्टा पनि भन्न मिल्दछ।

सत्र साल पुस १ गते तरुण दलको अधिवेशन–स्थल सिंहमहल थापाथलीबाट प्रधानमन्त्री वीपी कोइराला, उनको क्याबिनेटका अधिकांश सदस्यहरू र म स्वयम्लाई समेत् एकैसाथ जुन नाटकीय शैलीमा गिरफ्तार गरिएको थियो, त्यसलाई सम्झिँदा मेरो ओठमा अनायास नै नमीठो हाँसोको घर्सो देखापर्दछ। त्यति मात्र होइन, गिरफ्तार गर्ने क्रममा राजाका सिपाहीहरूले पहिला वीपी, त्यसपछि गणेशमानलाई, ‘तपाईँलाई हुकुम भएको छ’, भन्दै बोलाएपछि आफूचाहिँ त्यस्तो महत्वपूर्ण छलफलमा छुट्न आँटेको सम्झी जसरी म छट्पटाएको थिएँ, त्यस मूर्खताप्रति मलाई जहिले पनि गहन लज्जावोध भइरहन्छ।

‘तरूण दलको अधिवेशनमा आउनु होला नि’, भनेर वीपीले अघिल्लो दिन नै भन्नु भएकोले म त्यो दुर्भाग्यपूर्ण दिन यथासमय नै थापाथली पुगेको थिएँ। संसदको सभामुखको पदमा चुनिएपछि संसदीय पद्धतिको विश्वव्यापी मान्य परम्पराको पालना गर्दै मैले पनि आफूलाई नेपाली काङ्ग्रेस पार्टीका क्रियाकलापबाट केही टाढा राख्ने प्रयत्न गर्दै आएको हुँ। त्यसै अनुसार त्यस दिन पनि म शुरूमा नेपाली काङ्ग्रेसको भ्रातृ संगठन– तरूण दलको त्यस सभामा मञ्चमा नगई विशिष्ट दर्शकहरूका लागि छुट्याइएको ठाउँमा गएर बसेको थिएँ। तर नियतिलाई अर्कै कुराको धून थियो शायद। मलाई दर्शकदीर्घामा बसेको देखेर वीपीले नै मञ्चमा डाक्नु भएको थियो।

वीपी, गणेशमान सिंह, केही मन्त्री र म मञ्चमा थियौँ। अधिवेशनको उद्घाटन भइसकेको थियो। काङ्ग्रेसका महामन्त्री श्रीभद्र शर्मा बोल्दै थिए। त्यसै समयमा समारोह–स्थलमा शाही सेनाका जर्नेल सुरेन्द्रबहादुर शाहाको कमानमा एउटा सैनिक टुकडी देखा परेको थियो। फौजी जवानहरू पैदल नै आएका थिए कि उनीहरू चढेर आएको ट्रक बाहिर सडकमा नै पार्क गरिएको थियो, भन्न सकिँदैनथ्यो तर जर्नेल र उनका सहायक सम्भवतः कर्नेल समरराज कुँवर भने सेनाको जीपमा आएका थिए।

सानो कद–काँठीका श्यामवर्णी भुकुल्ले जर्नेल शाहा छिटा–छरिता देखिन्थे र राजाको आदेश पालनाका लागि दृढ मनस्थिति बनाएर त्यहाँ आएका हुनाले अनुहारलाई सायाश कठोर बनाउने चेष्टा गरिरहेका थिए। उनको त्यो चेष्टा त्रुटिरहित ढङ्गले सफल भने हुन सकिरहेको थिएन। उनको अनुहारको रङ्ग घरी–घरी फेरिइरहेको थियो। उनी आफूलाई अति नै मन नपरेको, साह्रै अप्ठ्यारो काम गर्न वाध्य भएको कुनै निरीह मानिस झैँ भित्रभित्रै छट्पटाइरहेकाजस्ता देखिन्थे। उनको ओठ–मुख सुकेको थियो। उनी घरी–घरी जिब्रो बाहिर निकालेर सुकेको ओठलाई भिजाउने कोशिस गरिरहेका थिए।

केही बेरपछि नै उनको मानसिक द्वन्द्वको वास्तविक कारण खुलस्त भएको थियो। उनी त देशको इतिहासमै पहिलोपटक जनताद्वारा चुनिएर प्रधानमन्त्री बनेको व्यक्तिलाई उसको क्याबिनेटका सम्पूर्ण सदस्यहरू सहित गिरफ्तार गर्न आएका थिए। त्यो पनि फगत राजाको मौखिक हुकुमका वलमा। वीपी र उनका साथी–सहयोगीहरूले गिरफ्तारी दिन अस्वीकार गरे भने के होला ? बल प्रयोग गर्नुपर्ने अवस्था आयो भने कसरी गर्ने ? यस्ता सवालहरूले जर्नेल सुरेन्द्रबहादुरलाई चिन्तित बनाइरहेको हुनुपर्दछ त्यतिबेला। हुनसक्दछ, त्यस्तो साह्रै अप्रिय अवस्था त नआउला भन्ने कुरामा आफैँलाई मनमनै आश्वस्त बनाउन खोजिरहेका थिए उनी।

गिरफ्तार गर्न मञ्चमा जानु अघि जर्नेल शाहाले एकपटक त्यहाँ सोफामा बसिरहेका वीपीतर्फ अर्थपूर्ण नजरले हेरेका थिए। उनलाई वीपीको त्यक्तित्व बडो आकर्षक लाग्दथ्यो, सौम्य र दृढ। आफ्ना बुबा जीतेन्द्रबहादुर शाहा पनि उम्दा लेखक र पुस्तकहरूको शौकीन भएकाले यी जर्नेलले साहित्यको रसास्वादन कलेज पढ्दाताका नै गरेका थिए र फरक विषय–वस्तु र शैलीमा लेखिएका वीपीका कथाहरू यिनलाई मन पनि पर्दथे। जर्नेल शाहा र वीपीका बीच अर्को एउटा अलि विचित्र लाग्ने सम्बन्ध पनि थियो। त्यो सम्बन्धको आधार थिइन् एउटी स्त्री, जससँग जर्नेलको बिवाह भएको थियो र जो वीपीकी समर्पिता प्रेमिका थिइन्।

एक्सन लिन ढिला हुँदै गएको लागेर हुनुपर्दछ, शाहाका सहायक अफिसर समरराज कुँवरले उनको कानैनिर मुख लगेर केही सल्लाह–साउती गरेको झैँ देखेको थिएँ मैले। त्यसपछि लगत्तै सतर्क मुद्रामा ती दुवै फौजी अफिसरहरू हामीहरू भएको मञ्चमै आएका थिए। सबैभन्दा पहिला वीपीको अगाडि पुगेर पूरै फौजी काइदामा सलाम ठोक्दै जर्नेल शाहाले वीपीसँग भनेका थिए, ‘सर हजूरलाई हुकुम भएको छ।’ वीपीले हो न हो, पहिलेदेखि नै त्यस्तै केही हुन्छ भन्ने थाहा पाएर पर्खेर बसेझैँ राजाको हुकुम शिरोपर गर्नु भएको थियो र सरक्क उठेर जर्नेलले देखाएको जीपमा गएर बस्नु भएको थियो। त्यसपछि गणेशमानजीलाई पनि, ‘तपाइँलाई पनि हुकुम भएको छ’, भनेका थिए जर्नेल शाहाले।

त्यतिबेलासम्म त्यहाँ भइरहेको घटनाको भयङ्करताको बारेमा बिल्कुलै बेखबर म चाहिँ राजाको कुनै महत्वपूर्ण छलफलका लागि नेताहरूलाई बोलाइरहेका छन् र मलाई भने छुटाउलान् जस्तो छ भनेर छट्पटाइरहेको थिएँ। तर मेरो त्यो छट्पटी धेरैबेरसम्म रहन पाएको थिएन। गणेशमानजी मञ्चबाट उठ्ने बित्तिकै जर्नेलले मतिर औंला तेस्र्याएका थिए, ‘तपाइँलाई पनि हुकुम भएको छ।’

त्यसदिनको आफ्नो मूर्खतालाई सम्झेर म अहिले पनि चकित हुन्छु। बडो दिग्दार पनि लाग्दछ– प्रधानमन्त्री र उनको क्याबिनेटका वरिष्ट सदस्यहरूलाई उनीहरू एउटै औपचारिक कार्यक्रममा सामेल भइरहेको बेलामा फौजी अफिसरहरू मार्फत आर्मीको जीपमा चढेर आउनु भनी राजाले गरेको हुकुमको के मतलव हुन सक्दछ ? भन्ने जस्तो मामूली कुरो पनि बुझ्न नसकेको म त ‘तपाइँलाई हुकुम भएको छ’ भन्ने पाँच शब्दको त्यो वाक्य सुनेर अत्यन्त हर्षित भएको थिएँ। त्यो हर्षको मूल्य यति ठूलो हुनेछ भन्ने मलाई के थाहा ?

त्यसपछिका घटनाहरूको श्रृङ्खलाले के प्रमाणित गरिदिए भने म राजा महेन्द्रको निशानामा पहिलेदेखि नै थिएँ। कुनै कारणवशः म तरूण दलको त्यो, काङ्ग्रेसी नेताहरूको आम–गिरफ्तारीका कारण ऐतिहासिक बन्न पुगेको अधिवेशनमा नपुगेको भए पनि राजाले धुइँपात्ताल खोजेर मलाई गिरफ्तार गरेरै छाड्दथे र यसैगरी जेलमा सडाइरहन्थे। उनका दृष्टिमा म कृष्णप्रसाद भट्टराई उनको असीम महत्वाकांक्षाको बाटोमा तगारो बन्न सक्ने प्रजातान्त्रिक चेतनापुञ्जको एउटा सानो कण थिएँ जुन बाहिर खुल्ला रूपमा रहुञ्जेल उनका लागि सधैँ खतरा बन्न सक्दथ्यो।

राजा महेन्द्रले आफ्नै सरकारका विरूद्ध चालेको त्यो घृणित कदम र प्रजातन्त्रवादी नेता–कार्यकर्तामाथि गरेको अमानवीय कार्वाहीको अभीष्ट विवादरहित ढङ्गमा प्रष्ट भएको छ तापनि त्यसको प्रकट रूपमा देखिने उत्प्रेरक तत्वहरूका बारेमा जहिले पनि छलफल गर्न सकिन्छ। निरङ्कुश तर सदाशयपूर्ण उदार राजा बन्ने आकांक्षाबाट डोरिएका उनलाई जनताको मतका आधारमा चुनिएर आएका यी जनप्रतिनिधिहरूले भन्दा बढी राम्रो र छिटो यस देशको विकास गर्न सक्दछु भन्ने निरर्थक अहंकारले हुट्हुटी लगाइरहेको पो थियो कि ? अथवा उनले हामी प्रजातन्त्रवादीहरूको प्रजातन्त्रप्रतिको प्रतिवद्धता कति दह्रो छ र यसका लागि कति ठूलो कष्ट सहन सक्दछौ भन्ने कुरा जाँच्नकै लागि यस्तो क्रूर तरिका अप्नाएका हुन् कि ?

जे भए पनि राजाले चालेको सत्र साल पुस १ गतेको कदमको परिणाम, कम्तीमा पनि मेरो सन्दर्भमा उनले सोचे जस्तो अलिकति पनि निस्किएन भन्ने दावी गर्न सक्दछु म। त्यो भयानक दिनभन्दा पहिले म नेपालको सार्वभौम संसदको सभामुख थिएँ, आफ्नो पदीय दायित्व इमान्दारी र पूर्ण निष्ठाका साथ पूरा गरिरहेको थिएँ। सभामुखको निष्पक्ष कुर्सीको मर्यादा अनुरूप नेपाली काङ्ग्रेस पार्टीको सदस्यता त्यागेर संसदीय प्रणालीको एउटा महत्वपूर्ण पुर्जाका रूपमा त्यसको प्राणप्रतिष्ठा गर्दै थिएँ। तर काङ्ग्रेसको सदस्य छँदा र त्यसलाई त्यागेर सभामुखका हैसियतले काम गर्दा पनि प्रजातन्त्रका सार्वकालिक र सार्वभौम मूल्य–मान्यताहरूप्रतिको मेरो जुन प्रतिवद्धता थियो त्यसको मात्रामा एक इन्च पनि फरक परेको थिएन। र अहिले, ८ वर्षदेखि जेलको पर्खालभित्र कैद भएर यन्त्रणामय दिनहरू बिताइरहँदा पनि प्रजातन्त्रप्रतिको मेरो आस्था र विश्वास रत्तीभर पनि डग्मगाएको छैन, बरु कष्टको आरनमा खारिएर त्यो झनै दह्रो भएको छ।

अवाञ्छित महत्वाकांक्षाको पछि दगुरिरहेका राजाले समयको गति र जनताको शक्ति दुवैको हेक्का राखेका छैनन्। त्यसमाथि जन्मजात शासक बन्न पाउने सुविधा पाएको व्यक्तिमा पैदा हुने अहंकारले उनको सोच्ने क्षमतालाई भुत्ते बनाउदै लगेको जस्तो छ। अहिलेको घडीमा उनको अहंकारलाई हाँक दिन सक्ने कुनै तागत पर–परसम्म पनि प्रकट भएको देखिँदैन। त्यसैले उनी मनलाग्दो किसिमले आफ्नो अहम्‌को तुष्टि गर्ने भद्दा खेल खेलिरहेका छन्।

सत्र साल पुस १ गतेको काण्डको लगत्तै पछिदेखि राजाले आफ्नो अहंकारको तुष्टिका लागि अनेक अपकर्म गरेका छन्। सबैभन्दा पहिले त उनले नैतिक साहसका दृष्टिले कमजोर, ढुलमुले चरित्र भएका राजनीतिक कार्यकर्ताहरूलाई प्रजातान्त्रिक पथ–विचलित बनाउने अभियान चलाए, त्यो अभियान धेरै हदसम्म सफल पनि रह्यो। लोभीपापी, लुच्चा–लफङ्गा र चापलुसहरू त उत्नीखेरै उनको तलुवा चाट्न तयार भइहालेका थिए। जो भाँचिन बरु तयार थिए झुक्न होइन, तिनीहरू माथि यिनको सत्ताले निर्मम प्रहार गर्‍यो। प्रजातन्त्रवादी सामाजिक अगुवाहरू अराष्ट्रिय बनाइए। ती अराष्ट्रिय तत्वहरूमध्ये कतिजना जेलमा सड्न वाध्य भए, कतिजना मारिए र कतिजना निर्वासित भए।

राजाले वलात् सत्ता कब्जा गरेको यो झण्डै आठ वर्षको अवधिपछि शासनमाथिको उनको नियन्त्रण सम्पूर्ण भएको छ। न आन्तरिक न वाह्य, कतैबाट पनि उनको विरोध हुने स्थिति छँदैछैन भने हुन्छ। सत्र सालको लगत्तैपछि निकै प्रभावशाली ढङ्गमा सशस्त्र प्रतिरोध गरेका भारत प्रवासमा रहेका नेपाली काङ्ग्रेसका पूर्व सभापति सुवर्णशमशेरले नै ‘राजासँग विरोध होइन, राजनीतिक सहकार्य गर्ने’ नीतिको घोषणा गरेर आत्मसमर्पण गरेपछि राजाको प्राधिकार चुनौतीरहित बनेको छ। सुवर्णशमशेरको त्यो सम्झौतावादी वक्तव्यपछि दिन प्रतिदिन बलियो र दुर्दमनीय बन्दै गएका राजाको विरोध गर्दा–गर्दा थाकेका नेपाली काङ्ग्रेसका बचेखुचेका नेता कार्यकर्ताहरूले पनि आत्मसमर्पण गरिसकेका छन्।

सबैतिरबाट बनेको यस्तो सजिलो राजनीतिक वातावरण देखेर राजालाई पनि मुक्त हुन बाँकी रहेका राजवन्दीहरूलाई छोडिदिउँ जस्तो लाग्दो हो। यी थोरै थकित–गलित र लगभग कार्यकर्ताविहीन भइसकेका नेताहरूले बाहिर निस्केर पनि अहिले नै उनको सत्तालाई चुनौती दिने खालका गतिविधि गरेर कुनै प्रकारको अप्ठ्यारो स्थितिको सिर्जना गर्न सक्ने छैनन् भन्ने पनि उनलाई थाहा छ होला। तर कठिन सङ्घर्ष गरेर त्यो ठाउँमा पुगेका जनताका ती प्रिय नेताहरूलाई कुनै न कुनै प्रकारले नझुकाई, अपमानित नगरी कारावासबाट बाहिर आउन दिन उनको अहंकारले अनुमति दिइरहेको छैन। वीपी कोइराला र गणेशमान सिंहले समेत् सुवर्णशमशेरको वक्तव्यको समर्थन गरेको जस्तो झिनो आवरणमा स्वतन्त्रताको मूल्य पञ्चायतको समर्थनमा वक्तव्य निकालेर चुकाउनु परेको मुख्य कारण राजा महेन्द्रको अहंकार नै हो।

राजा महेन्द्रको यो अहंकार अन्त्यमा गएर गद्दीनशीन शाहवंशकै निम्ति सर्वनाशको कारण बन्न सक्दछ भन्ने कुराको यिनले हेक्का राखेका छैनन्। मध्यमार्गी नेपाली काङ्ग्रेस पार्टीले विगतमा पनि संवैधानिक राजतन्त्रात्मक प्रणालीमा आस्था राख्ने भएका कारणले दिल्ली भागेर गएका राजा त्रिभुवनलाई फर्काएर गद्दी दिलाएकै हो। अब तिनै त्रिभुवनका छोरा यी राजा महेन्द्रले यसैगरी नेपाली काङ्ग्रेसलाई दबाई नै रहन खोजे भने एकदिन एउटा त्यस्तो क्षण आउने छ, नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरूले राजसंस्थाको अन्त्यका लागि हातेमालो गर्नेछन्। तर मेरो विचारमा त्यस्तो क्षण आयो र यस देशबाट राजसंस्थाको जरो उखेलियो भने त्यो समग्र राष्ट्रका लागि भने बडो दुर्भाग्यको विषय हुनेछ।

यी सबै कुरालाई देखेर मैले पनि मेरो अहंलाई जगाएको छु। राजा महेन्द्र र म यस सन्दर्भमा एउटै धरातलमा उभिएका छौँ। उनी मलाई अपमानित नगराई नछाड्ने, म कागज गर्दै नगर्ने। उनी राजहठ पक्डेर बसेका छन् तर छन् दरबारको सुख–सयलमा। उनको दृष्टिमा मेरो यो अडान मूल्यहीन, मूर्खता मात्र होला। उनी मसँग क्रुद्ध पनि भएका होलान्। म पनि मेरो हठ बोकेर बसेको छु तर छु जेलभित्रको कठोर र यातनामय साँघुरो परिवेशमा। राजाप्रति मेरो भावना के छ ? म ठ्याक्कै भन्न सक्दिनँ। उनीसँग म क्रुद्ध छु पनि भन्न सक्दिनँ। मैले त उनलाई आफूभन्दा बलियो भए पनि अवज्ञा गर्न र दुत्कार्न सकिने खालको मामूली दुश्मन मात्र ठानेको छु।

अझ अरू कति दिन, कति महिना वा वर्ष जेलमै बिताउनु पर्ने हो, मलाई थाहा छैन। कागज गरेरै भए पनि जेलबाट बाहिर निस्कन लाग्नु भएका मेरा नेता वीपी र गणेशमान सिंहले छिन्नभिन्न भएको प्रजातान्त्रिक आन्दोलनमा कसरी प्राण सञ्चार गर्नु होला वा गर्न सक्नु हुन्न होला, त्यो पनि म भन्न सक्दिनँ। उहाँहरू दुवैले पञ्चायतको समर्थनमा गरेको सहीछाप फगत एउटा रणनीतिक सम्झौता मात्र हो र उहाँहरूले कहिल्यै पनि राजासँग आत्मसमर्पण गर्नु हुने छैन भन्ने कुरामा भने म पूर्णतः विश्वस्त छु।

वीपी र गणेशमान दुवैलाई कागज गरेर कारामुक्त हुन लागेको कुरामा ग्लानी भइरहेको छ भन्ने मैले राम्रोसँग बुझेको छु। मसँग यस विषयमा छलफल गर्ने क्रममा वीपीले पीडार्द स्वरमा भनेको, ‘आई प्रे यु आर् करेक्ट एण्ड आइ याम् रङ् किसुनजी !’, लाई म कसरी बिर्सन सक्दछु ? त्यतिबेला कलेजो नै बाहिर निस्केला झैँ भएको थियो मेरो। एकछिन त मैले यी नेतालाई उनको जीवनको सबैभन्दा कठिन क्षणमा साथ नदिएर धोका दिएकोमा आफैँलाई धिक्कार्न मन लागेको थियो मलाई। तर त्यति नै बेला गणेशमानजीले आँखाको भाषामा कागज गरेर नछुट्ने मेरो अडान ठीक छ, नझुक्नु भन्ने प्रष्ट दिशानिर्देश गर्नु भएको थियो। गणेशमानजीलाई परोक्ष रूपमै भए पनि संसदीय व्यवस्थाको निन्दा र पञ्चायतको समर्थन गरेको कागजमा सहीछाप गरेर जेलबाट छुट्ने कुरा पटक्कै मन परेको थिएन। तर उहाँले वीपीको स्वास्थ्यलाई ध्यानमा राखेर हुन्छ भनिदिनु भएको थियो।

यथास्थितिमा म कहिले र कसरी जेलबाट बाहिर निस्कन सकुँला म भन्न सक्दिनँ। जुन राज्यमा नीति, नियम र कानूनभन्दा कुनै एक व्यक्ति वा व्यक्तिहरूको सानो समूहको चाहना धेरै शक्तिशाली हुन्छ, त्यस राज्यमा मानवीय स्वतन्त्रता, समता, न्याय र विधिको शासनको आकांक्षा राख्ने मजस्ता मानिसका भागमा जेल–नेल, यातना र प्रताडना नै पर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। म यसका लागि तयार छु।

शुरुमा म परिस्थितिजन्य कारणहरूले गर्दा राजनीतिमा आएको थिएँ भने आज आएर यो मेरो आफ्नो रोजाइको बाटो भएको छ। सत्र सालभन्दा पहिले म काशी कोतवालीमा २० दिन हिरासतमा बसेको बाहेक जेलमा कहिल्यै पनि परेको थिइनँ। जब म त्यस वर्ष बिल्कुलै अकारण, अन्यायपूर्ण ढङ्गले गिरफ्तार गरिएँ र बिना अदालती कार्वाही ६–६ महिनाको थुनुवा पुर्जी दिइँदै मलाई लगातार ८ वर्ष जेलमा राखिएको छ र, अहिले आएर यो बिना कुनै अपराधको दण्डबाट छुट्कारा पाउन मैले मेरो आस्थाको विरुद्ध सहीछाप गर्नु पर्ने शर्त तेस्र्याइएको छ, यसबाट मैले रोजेको राजनीतिको बाटोको उपयुक्तता र आवश्यकता झनै प्रमाणित भएको छ।

व्यक्तिका रूपमा मेरा अनेकौँ कमजोरीहरू छन्। थोरै जुन गुणहरू छन् ममा तीमध्ये एउटा महत्वपूर्ण गुण मेरो आशावादिता हुनसक्दछ भन्ने म ठान्दछु। यही आशावादिताले गर्दा म जेलको लामो, पट्यारलाग्दो र यातनामय बसाइलाई धैर्य र सन्तुलनका साथ बिताउन सक्ने भएको छु। मलाई आफू जेल बसेको कुराको सार्थकताप्रति पूर्ण विश्वास छ। हाम्रा साथीहरू र मैले बिताएका जेलका यी अँध्यारा दिनहरूले हामी पछिको पुस्तामा नयाँ उर्जा र नयाँ जीवन थपेर तिनलाई अझै बढी कर्मण्य र सक्षम बनाउनेछन् भन्ने कुरामा म विश्वस्त छु।

नेपाली राजनीतिको फलकमा फैलिएको निरङ्कुश अघिनायकवादको कालो बादल एक दिन अवश्य पनि फाट्ने छ। एकतन्त्रीय राणा शासनको अन्त्य भए जस्तै शाहहरूको अहिलेको मनपरीतन्त्र पनि नष्ट भएर जान्छ र देशमा पुनः प्रजातन्त्रको सुनौलो बिहानी आउनेछ भन्ने बारे आफ्नो जन्मजात आशावादिताका कारणले म निश्चिन्त छु, पूर्णतः विश्वस्त छु।

राजनीति मेरा लागि व्यक्तिगत लाभको कार्यव्यापार होइन। वास्तवमा हामी भट्टराईहरूको सम्पूर्ण परिवारमा नै एक प्रकारको निस्संगताको संस्कार छ भन्ने म ठान्दछु। यसलाई अनाचारभीरुता पनि भन्न सकिन्छ। भारतीय स्वतन्त्रताको संग्राममा हाम्रो सम्पूर्ण परिवारकै संलग्नता रहेको हो र मैले जहिले पनि अवसरवादितालाई मानिसको निकृष्टतम् अवगुण ठान्दै आएको छु। वास्तवमा मैले केटाकेटीदेखि नै घरबाट, वरिपरिको परिवेशबाट, स्कूल–कलेजका गुरूहरूबाट सिकेको कुरो नै यही हो। म राजनीतिक परिस्थितिलाई आफ्नो व्यक्तिगत राजनीतिक लाभ लिने हेतुले प्रयोग गर्ने कुरा कहिल्यै सोच्न सक्दिनँ। कतिजनाको नजरमा धृष्टता जस्तो लाग्ने मेरो व्यवहारको रहस्य पनि यही हो।

आज डायरीमा लामो लेखें। आजको दिन विशेष दिन पनि त हो। वीपी बाबुको पूरै क्याबिनेट नै अटाउने गरी बनाउन लगाइएको सुन्दरीजलको यो विशेष कारागृह भोलि आएर खाली–खाली हुनेछ र सम्भवतः एक–आध हप्तामा पूरै रित्तो। हामी दुई प्राणी छौँ दिवान र म– अनिश्चित भविष्यलाई अरू अनगिन्ती दिन जेलको एकान्त कोठरीमा बसेर पर्खन अभिशप्त। हो म पर्खन तयार छु। नियतिलाई यही मन्जूर छ भने यही सही, म पनि नियतिको चाहनालाई सेयर गर्न तयार छु।’

{हरि अधिकारीको पुस्तक संकलित गद्यरचनाबाट साभार}

मतदान गर्न

बाँकी