दलभन्दा माथि उठेर एउटा जानकार र विषय विज्ञको हिसाबले आफ्नो विचार र प्रस्तुतिहरू राख्नुपर्छ । उपनिर्वाचनबाट आएका कारण राष्ट्रिय सभामा अन्य सदस्यहरूले जस्तो मैले धेरै लामो समय बिताउन पाइनँ । ६ वर्षे कार्यकाल भएको राष्ट्रिय सभामा मेरो पदावधि करिब ९ महिना रह्यो । यस ९ महिनामा खास धेरै बैठकहरू बस्न सकेनन् । त्यसकारण जति गहन विषयहरूमा छलफल हुनुपथ्र्यो, त्यो हुन पाएन । समसामयिक विषयहरूमा नै छलफल भयो । यस बीचमा केही विधेयकहरू पनि आए । त्यसमा सामान्य छलफल गरेर पारित गर्ने काम भयो । त्यसबाहेक देशको समसामयिक विषय र समस्याहरूका विषयमा नै माननीय सदस्यहरूले आफ्ना विचारहरू राख्ने काम गर्नुभयो । नौ महिनाको कार्यकालमा मैले पनि दुई पटक बोल्ने मौका पाएको थिएँ । देशमा देखिएको राजनीतिक अस्थिरता र अप्ठ्यारो अवस्थामा छलफल र सहमतिका आधारमा मिलेर जानुपर्ने विचार मैले राखेँ ।
निर्वाचित हुनुअघि मैले सोचेको राष्ट्रिय सभा र निर्वाचित भएर आइसकेपछिको राष्ट्रिय सभामा धेरै भिन्नता पाएँ । राष्ट्रिय सभा माथिल्लो सदन हो, विज्ञहरूको सभा हो, प्रतिनिधि सभाबाट आएका विषयवस्तुहरूमा गहन ढङ्गले छलफल हुन्छ, परिपक्क छलफल हुन्छ भन्ने मैले सोच्थेँ । विज्ञहरूको यस सभामा आइसकेपछि दलभन्दा माथि उठेर राष्ट्रलाई निकास दिने गरी निर्देशन हुन्छ, यसमा मेरो भूमिका के हुन सक्छ ? भनेर सुरुमा त म आफै अत्तालिएको थिएँ । तर, यहाँ आइसकेपछि मैले त्यस्तो पाइनँ । विद्वानहरूको यस सभामा आइसकेपछि जुन ढङ्गले छलफल हुनुपर्ने हो, विचारहरू प्रस्तुत हुनुपर्ने हो, त्यसमा कतै न कतै अभाव देखियो ।
राष्ट्रिय सभा विज्ञहरूको सभा हो, विद्वान्हरूको सभा हो । यहाँ कुनै न कुनै विषयका विज्ञ व्यक्तित्वहरू, अनुभवी र पाका मानिसहरू आउँछन् भन्ने आम धारणा छ । राष्ट्रिय सभाको अवधारणा पनि यही हो । समावेशिताका लागि यस सभालाई नमूनाका रुपमा लिन सकिन्छ । सम्मानित यस सभामा आइसकेपछि हरेक एक सदस्यको जिम्मेवारी हुन्छ, कि यस सभाको गरिमा कायम राख्नु । दलहरूले पनि समावेशी र समानुपातिक अवधारणालाई न्याय हुने गरी सदस्यहरूको छनौट गरी यस सभामा पठाउनु पर्छ जस्तो मलाई लाग्छ किनभने विज्ञहरूको सभा भएकाले यस सभालाई अपरिपक्व काम गर्ने छुट हुँदैन ।
राष्ट्रिय सभा उपल्लो सदन हो । मेरो विचारमा, दलबाट प्रतिनिधित्व गरेर आए पनि त्यहाँ दलभन्दा माथि उठेर एउटा जानकार र विषय विज्ञको हिसाबले सदस्यहरूले आफ्नो कुरा, विचार र प्रस्तुतिहरू राख्नुपर्छ । राज्यको हितलाई ध्यानमा राखेर, राष्ट्रलाई नै केन्द्रविन्दुमा राखेर, छलफल गरेर अघि बढ्नुपर्ने सभा हो । हामी कुनै न कुनै दलबाट प्रतिनिधित्व गरेको भएर अलिकति झुकाव त रहन्छ, तैपनि दललाई अहिलेका लागि थाती राखेर राष्ट्रको हितलाई ध्यानमा राखेर, राष्ट्रको हितमा छलफल गरेर प्रतिनिधि सभालाई निर्देशन दिने/सुझाव दिने, सल्लाह दिने सभा हो, हाम्रो सभा । यस तरिकाले हामी अगाडि बढ्न सक्यौँ भने राष्ट्रिय सभाको गरिमा कायम रहन्छ ।
नवनिर्वाचित राष्ट्रिय सभाका माननीय सदस्यहरूलाई मेरा तर्फबाट धेरै बधाई र कार्यकाल सफल रहोस् भन्ने कामना छ । साथै उहाँहरूलाई म एउटा के अनुरोध गर्न चाहन्छु भने, हामी जुनसुकै दलबाट प्रतिनिधित्व गरेर राष्ट्रिय सभामा आए पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर, जनतालाई केन्द्रविन्दुमा राखेर गहन छलफल गरेर नमुनाका रुपमा प्रस्तुत हुनुपर्छ । मलाई विश्वास छ, अहिले निर्वाचित भएर आउनु भएका माननीय सदस्यहरूले राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखेर आफ्नो भूमिका खेल्नु हुनेछ । उहाँहरूबाट राष्ट्रिय सभाको गरिमा अझै बढ्ने छ भन्ने मलाई आशा छ ।
– राष्ट्रिय सभा सदस्य पाण्डेयको पदावधि हिजाे (२० फागुन, २०७८) सकियाे । राष्ट्रिय सभामा चार वर्षे पदावधि रहेका चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि १७ जेठ, २०७८ मा भएको उपनिर्वाचनमा पाण्डेय निर्वाचित भएका थिए। त्यसअघि उनी नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य थिए । उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका हुन् । त्यसो त, उनको पृष्ठभूमि पनि कांग्रेस नै हो । २०७४ को चुनावअघि मात्रै उनी एमाले प्रवेश गरेका थिए । पाण्डेयको अनुभूति ‘राष्ट्रिय सभाका दुई वर्ष’ पुस्तकबाट लिइएको हो ।
प्रतिक्रिया