युरोपमा दोस्रो विश्व युद्धपछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दैः राष्ट्र सङ्घ

युरोपमा दोस्रो विश्व युद्धपछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दैः राष्ट्र सङ्घ



एजेन्सी । संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सीले युरोपमा दोस्रो विश्व युद्ध पछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दै गएको बताएको छ । एजेन्सीले रुसले युक्रेनमाथि गरेको आक्रमण पछि युरोपमा शरणार्थी समस्या दोस्रो विश्व युद्ध पछि कै धेरै भएको बताएको छ । एजेन्सीले युक्रेनबाट युद्धका कारण पलायन हुनेको सङ्ख्या चाँडै नै १५ लाख नाघ्ने पनि बताएको छ । रुसले आक्रमण गरेपछि पोल्याण्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी लगायतका मुलुकमा युक्रेनका नागरिक गइरहेका छन् ।

यता, रुसले युक्रेनको दुई मुख्य सहरमा अस्थायी सङ्घर्षविरामको घोषणा गरे पनि त्यो कार्यान्वयन नहुँदा उद्दारको काम रोकिएको छ । युक्रेनको मारियुपोल र भोल्नोभाखमा रुसले अस्थायी सङ्घर्षविराम गरी मानवीय सहायता सामग्रीका लागि मस्कोको बाटो खुला गर्ने भनेपनि त्यो कार्यान्वयन हुन नसकेको युक्रेनको आरोप छ । रुस र युक्रेनबीच दोस्रो चरणमा भएको वार्तामा रुसले मानवीय सहायताका लागि सहमति जनाएको थियो । तर, सहमति विपरित रुसले आक्रमण जारी राख्दा ती दुई सहरबाट नागरिकलाई निकाल्न नसकिएको युक्रेनले बताएको छ ।

यसैबीच, यक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीले अमेरिकासँग थप हतियार सहयोगका लागि अपिल गरेका छन् । उनले रुसबाट तेल खरीद गर्ने व्यवस्थामाथि प्रतिबन्धको माग समेत गरेका छन् । भिडियो सन्देशमार्फत् उनले रुसी सेनासँग युद्धमा लड्नका लागि फाइटर जेट उपलब्ध गराइदिन अमेरिकी काँग्रेससँग माग गरेका छन् ।