रुसद्वारा युक्रेनी विद्यालय, बालकक्ष र अस्पतालमा आक्रमण

रुसद्वारा युक्रेनी विद्यालय, बालकक्ष र अस्पतालमा आक्रमण



विगत ११ दिनदेखि युक्रेन विरुद्ध रुसी आक्रमण जारी छ । पछिल्ला दिनमा रुसले नागरिकलाई लक्षित गरी विद्यालय, बालकक्ष र अस्पतालमा आक्रमण आक्रमण गरेको भन्दै चौतर्फी विरोध हुन थालेको छ ।

युक्रेनी उपप्रधानमन्त्री ओल्हा स्टिफ्यानिसिनाले रुसले युक्रेनका नागरिकहरुलाई लक्षित गरी अस्पताल, विद्यालय र बालकक्षहरुमा आक्रमण गरेको बताउनु भएको छ ।

युक्रेनी सेनाको कडा प्रतिरोधका बीच रुसले युक्रेनी नागरिक विरुद्ध आक्रमण गरेको बताइएको छ । युक्रेनको इर्पिनबाट सुरक्षित गन्तब्यमा जाने क्रममा रुसी सेनाको आक्रमणमा परी हिजो एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

रुसी आक्रमण नरोकिएकाले बन्दरगाह सहर मारिउपोलमा सामूहिक उद्दार कार्य बन्द गरिएको छ । मरिउपोलमा विगत पाँच दिन देखि पानी, बिजुली र सरसफाई बन्द छ । नागरिकहरुले जगेडामा राखेको खाद्यान्न र पानी पनि सकिन लागेकाले सर्वसाधारण संकटमा छन् ।

विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य सेवा र निकायमा आक्रमण गरिएकाले उपचारको अभावमा मृतकको संख्या बढ्ने र घाइतेहरुले उपचार नपाउने भन्दै आपत्ति जनाएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार रुस युक्रेन युद्ध शुरु भएयता ३ सय ६४ जना युक्रेनी नागरिकले ज्यान गुमाएका छन् । १५ लाखभन्दा बढी नागरिकहरु छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।