नेपाल बारमा भावी अध्यक्षका लागि सत्ता गठबन्धनबाट घिमिरे र पिपिएलएबाट अधिकारी भिड्ने

नेपाल बारमा भावी अध्यक्षका लागि सत्ता गठबन्धनबाट घिमिरे र पिपिएलएबाट अधिकारी भिड्ने



काठमाडौं । नेपाल बार एसोसियसनमा भावी अध्यक्षका लागि सत्ता गठबन्धनबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) ले वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ । बारको २६औँ महाधिवेशनअन्तर्गत सोमबार अपरान्ह ३ बजेसम्म उम्मेदवारी मनोनयन भइसक्नुपर्ने समयसीमा छ । महाधिवेशनअन्तर्गत चैत १९ गते मतदान हुनेछ।

कांग्रेस समर्थित डेमोक्रेटिक लयर एसोसिएसन (डीएलए) अध्यक्ष योगेन्द्र अधिकारीले आफूहरु बारको अध्यक्षको लागि घिमिरेको नाम टुंग्याएको जानकारी दिए। अन्य पदका उम्मेदवार हुनेको नाम भने टुंगो लाग्न सकेको छैन, त्यसबारे छलफल भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

महाधिवेशनको लागि सत्ता गठबन्धनमा आवद्ध दलका वकिलहरुले संयुक्त उम्मेदवारी दिने अन्तिम कसरत गरिरहेका छन्। उनीहरुले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षमा क्रमशः नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबन्डा गरेका छन्। जसअनुसार कांग्रेसको भागमा परेको अध्यक्षमा घिमिरेको नाम टुंग्याइएको छ।

प्रमुख प्रतिपक्षी दल एमाले समर्थित वकिलहरुले प्यानलै उम्मेदवार घोषणा गरेका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) ले प्यानसहित उम्मेदवार घोषणा गरेको हो ।

पीपीएलएले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ । त्यस्तै उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, मधेश प्रदेशबाट केशव दास, वागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमिल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिँदैछन् ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की परेका छन् ।

बारमा अध्यक्ष एक, खुलाबाट एक वरिष्ठ उपाध्यक्षसहित सात प्रदेशबाट एक एकजना उपाध्यक्ष गरी आठ जना, एक महासचिव, एक कोषाअध्यक्ष र समावेशी आधारमा १४ जना सदस्य कार्यसमितिमा निर्वाचित हुन्छन् । चुनावमा ९ हजार ६०७ जना मतदाता रहेका छन्।