लक्ष्मी पाण्डे
आज ८ मार्च, अन्तर्राष्ट्रिय विश्व महिला दिवस । यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने राष्ट्रिय नारा तय गरेको छ । गत बर्ष कोभिड – १९ का कारण ई (Zoom)माध्यमद्वारा मनाईएका समाचार आएका थिए । अहिले बिश्वमा कोभिड कम हुँदै गईरहेको तथा मान्छेको जमघट बढ्न थालेको हुँदा भौतिक रुपमै कार्यक्रमहरु भइरहेका छन् ।
महिला समाज लगायत राष्ट्रकै महत्त्वपूर्ण हिस्सा हुन् । महिलाको सहभागिता बिना चाहे घर होस् चाहे समाज वा राष्ट्र, चल्न गाह्रो छ । त्यही पनि महिला र पुरुषको बीचमा व्यापक असमानताको दुरि कायमै छ । महिला माथी हुने अन्याय र अत्याचारको कुनै सिमा छैन । उनीहरुलाई सकेसम्म घर परिवारमै सिमित राख्न खोजिन्छ । जब सम्म महिला घरका कामकाज र परिवारको रेखदेखमा अल्झिरहन्छन्, तबसम्म उसको शैक्षिक तथा अन्य विविध अवसर गुमिरहेको हुन्छ ।
आज बिज्ञान र प्रबिधिले अनगिन्ती फड्को मारेको अवस्था हो । यद्यपी कैयौं महिलाहरु आज पनि उत्पीडनको सिकार भईराखेका छन् । शिक्षाबाट बंचित हुनु, भ्रुण हत्या गर्न विवश हुनु, बोक्सीको आरोपमा कुटपिट हुनु, दाइजोको निहुँमा निरन्तर पीडा र ज्यानै हत्या गर्नु, चरम रुपमा आर्थिक अभाव तथा बेरोजगार हुनु, साधन र स्रोतको अभावमा भोकभोकै मर्नु पर्ने अवस्था सृजना हुनु, समाजका विविध संस्कारजन्य क्रियाकलापबाट प्रताडित हुनु, परिवारमा स्वनिर्णय गर्ने अधिकारबाट बंचित हुनु, परिवारमा कामको सम्मानको बदला अपमान खेप्न पर्नु, महिला कामदारहरुको समान ज्यालामा विभेद हुनु,( यद्यपी कानुनी रुपमा विभेद गर्न पाईंदैन) समाजले महिलालाई हेर्ने र बुझ्ने दृस्टिकोण फरक हुनु, परिवारमा प्यार, ईज्जत र कामको कदर नहुनु आदि ईत्यादी । यी लगायत अरु धेरै बिषयहरुमा महिलाले समान अधिकार प्राप्त गर्न सकेका छैनन् ।
जब एउटा महिला घरबाट बाहिर निस्किन्छिन्, हर क्षेत्रमा उनले सफलता प्राप्त गर्न सक्षम हुन्छिन् । चाहे राजनीति होस्, चाहे खेल क्षेत्र होस्, चाहे सरकारी सेवा होस्, सैन्य क्षेत्र होस् वा ब्यबसायिक क्षेत्र किन नहोस् । जति क्षमता पुरुषसँग छ, त्यो एक महिलामा पनि छ । किन भने प्रकृतिले कसैमाथी पनि अन्याय गरेर यो धर्तिमा पठाएकै छैन । होलान् कोही शारीरिक रुपले अशक्त कोहि मानसिक रुपले बिक्षिप्त , यी केस बाहेक सबैलाई सृष्टि कर्ताले भरपुर क्षमता दिएर पठाएको छ । उसले यो महिला यो पुरुष भनेर छुट्ट्याएको छैन । हाम्रो समाजले मात्र महिला र पुरुषको बिभाजन गरेको हो । कामको वर्गीकरण गरेको हो । केबल शारिरिक भिन्नतालाई आधार मानेर महिलालाई कमजोर भनिएको हो । पुरुषमा आएको भयको कारण आज महिला पछाडि परेका हुन् ।
आजको विशेष दिन, विश्व महिला दिवसको बारेमा थोरै चर्चा गराै । ८ मार्चको आफ्नै विशेष महत्त्व छ । यो दिनको प्रादुर्भाव हुनुमा संसारका हजारौं महिला दिदिबहिनीहरुको ठूलो योगदान रहेको छ । पटक – पटकको आन्दोलन , र्याली , नारा जुलुस, हड्ताल, सम्मेलनका बाबजुद संसारका महिलाले मत दिने अधिकार लगायत केही सुबिधाहरु प्राप्त गरेका हुन् । काममा बढी जोत्न नपाईने , ज्यालामा उचित पारिश्रमिकको ब्यवस्था गरिनु पर्ने उनिहरुको माग थियो । महिलालाई हरेक क्षेत्रमा उनीहरुको भुमिका बढाउन, आफ्नो अधिकार र शक्तिको पहिचान गराउँदै उनिहरुलाई जागरुक बनाउन , उनिहरुको जीवन स्तर उठाउन, सबै खाले अधिकारको सहज प्राप्तिको खातिर, हर क्षेत्रमा प्रशंसा, सम्मान, प्यार र हौसला मिलोस भन्ने अभिप्रायले, महिला अधिकारलाई बढावा दिन, उनीहरुको आर्थिक सामाजिक राजनीतिक उपलब्धीको लागि, उनीहरुको सशक्तिकरण गर्नका लागि, स्वयं आफ्नो अधिकार प्रति जागरुक गराउनको लागि, समाजमा रहँदा बस्दा उनको मूल्य र मान्यता स्थापित गराउनको लागि, देशको सरकार लगायत समाजलाई समेत जागरुक बनाउनको लागि यो दिन विशेष महत्त्व राख्दछ ।
एक दिन मात्र होइन, अरु ३६४ दिन पनि यस्तै सोंचले हामिलाई झक्झक्याई रहनु पर्छ । एकदिनमा कुनै परिबर्तन हुन सक्दैन । आजको दिन केबल प्रण तथा संकल्प गर्ने महान दिन हो । यसमा हामी आफै जागरुक हुन र माथी उठ्न जरुरी छ । कसैले बुई चढाएर हामिलाई माथी पुर्याउँदैन । हामी आफै सचेत बन्न जरुरी छ । महान सोंच र संकल्पले मात्र हाम्रो जीवन स्तर माथी उठाउन सकिनेछ ।
जब सम्म महिलाहरुलाई निर्णायक तहमा पुग्ने अवसर हुँदैन, तब सम्म बिकासका चार आयामहरु जस्तो सामाजिक आर्थिक राजनीतिक र साँस्कृतिक बिकास र परिवर्तन असम्भव छ । उच्च पदमा वा स्थानमा ज्यादै न्यून संख्या रहेको छ महिलाको । त्यहाँ पुगेपनि निर्णय सहितको अधिकार प्राप्त गर्न सकेका छैनन् । यसै निस्कृय भई रहनु परेका उदाहरण पनि छन् । पदमानै चित्त बुझाएर बस्न पर्ने अवस्था सृजना भएका छन् । जब उनीहरु आफुलाई असहज र अस्विकार लाग्ने बिषयमा मत जाहेर गर्छन्, तब उनीहरु माथिनै अबान्छित लाँछना लगाई दोषी साबित गरिन्छ । यहि नेर दोष छ समाजको । हेर्दा नदेखिने तर अत्यन्तै घातक जसबाट उनिहरुको मनोबल गिराउने गरिन्छ । के यो समानता हो त ? पद दिनु, स्थान दिनु, सम्पत्ति वा साधन र स्रोत प्राप्त गरेको छ भन्नु वा पढाई लेखाई मात्रले हुँदोरहेनछ । यो लैङ्गिक समानता भित्र पर्दैन । जबसम्म बराबर हक ,अधिकार र त्यसको ब्यबहारिक प्रयोजन समान हुँदैन, तबसम्म त्यो विभेद नै हो, असमानता नै हो ।
लैङ्गिक समानता महिला आन्दोलनको अन्तिम गन्तव्य हो र त्यो धेरै पछिको कुरा हो । हामीले त देख्ने छैनौं । हाम्रा सन्ततीले पनि देख्न मुश्किल छ । त्यहाँसम्म पुग्न महिलाहरुले अझै धेरै संघर्ष गर्नु पर्नेछ । आज विश्व समाज यानिकी बिश्वका तमाम मुलुकका धेरै जसो समाज अगाडि बढिसकेको अवस्था छ । त्यै पनि महिला हक हितको लडाइँ बिश्वभर जारी छ । यो संघर्ष समान अधिकार, सम्मान र ईज्जतका लागि भईरहेको छ । हरेक मुलुकका महिलाका समस्या फरक होलान , मुद्दाहरु फरक होलान् तर यो लडाईको मुल मर्म भने एउटै छ ।
हाम्रो देशको परिप्रेक्षमा पनि मुल मुद्दा लैङ्गिक समानता नै हो । राजनीतिक, सामाजिक, निर्णायात्मक तहमा पुगेका वा अग्रणी स्थान प्राप्त गरेका दिदिबहिनीहरुले आम नेपाली दिदिबहिनी र आमाहरुको देखिने र नदेखिने आम समस्याहरुलाई समेत समेट्ने गरि आफ्ना आवाज बुलन्द गर्न सक्नु पर्छ । निर्णायक तहमा पुग्नु भएका दिदिबहिनीहरुले महिला हक हितका पक्षमा वकालत गर्दै कानुनीरुपमा र कार्यान्वयनको बाटोमा अगाडि बढाउनु पर्छ । महिला उत्थानको लागि बिदेशी डलर लगायत नेपाल सरकारले छुट्ट्याएको बजेटको सहि र उचित स्थानमा उपयोग हुनु पर्छ । महिलाको उत्थान केबल महिलाले मात्र गर्न सक्दैनन् । यसका लागि चाहे घर होस् , समाज होस् या राष्ट्र होस् । त्यहाँ पुरुष बर्गको सहभागिता र हातेमालो अवश्य जरुरी हुन्छ । नारी र र पुरुष एक रथका दुई पाङ्ग्रा भनिन्छ । एक को अभावमा अर्कोको यात्राले सफलता र पुर्णता पाउन सक्दैन । यसर्थ महिला बिकास तब सम्भव छ, जब पुरुषले होस्टेमा हैंसे गर्दछ !
सम्पूर्ण आमा दिदिबहिनीहरुमा मेरो तर्फबाट ११२ औं विश्व महिला दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!
( लेखिका पाण्डे हाल राष्ट्रिय परिक्षा बोर्डमा कार्यरत हुनुहुन्छ ।)
प्रतिक्रिया