आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ यस वर्षको महिला दिवस मनाउन लागिएको छ ।

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको थालनी गरिएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको भने थिएन ।

सन् १९१४ देखि मात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा श्रमिक महिला दिवस मनाउन लागिएको हो । संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्रै नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।

नेपालको संविधान २०७२ ले महिलाको सहभागिता सुनिश्चिततका लागि विभिन्न व्यवस्था गरेको छ । जसअनुसार ३३ प्रतिशत सहभागिता गराउनैपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण संसद्मा महिलाको उपस्थिति सम्मानजनक छ । संघीय संसद्मा दुई सय ७५ सदस्यीय हुने व्यवस्था अनुसार महिलाको सङ्ख्या ९० रहेको छ । यसमध्ये ६ जना प्रत्यक्ष निर्वाचित छन् भने ८४ जना समानुपातिक सांसद हुन् । त्यस्तै, ५९ सदस्यीय राष्ट्रिय सभामा २२ जना महिला सांसद छन् । प्रदेश सभामा पनि ३३ प्रतिशत महिला छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्व छ । तर, अधिकार कार्यान्वयनको पाटो अझैँ फितलो छ ।