निर्माण व्यवसायीको अधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

निर्माण व्यवसायीको अधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ । साधारण सभा तथा अधिवेशन उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । महासंघले हिजाे बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।

साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए ।