एनआरएनमा भ्रमको खेती गर्नेहरुबाट सचेत रहन आग्रह गर्दछु

एनआरएनमा भ्रमको खेती गर्नेहरुबाट सचेत रहन आग्रह गर्दछु



गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा उभिएको छ । संस्थापन पक्षले तय गरेको नेतृत्व छनोटलाई प्रकृयालाई बेवास्ता गर्दै संरक्षण परिषद्का संयोजक शेष घलेले निर्वाचन समिति विघटन गरेका छन् । संस्थापन र संरक्षण परिषद्को विवादले एनआरएनए फुटको संघारमा पुगेको हो । संस्थापनले अघि बढाएको निर्वाचन प्रकृयामा उम्मेदवारी मनोनयको समयसीमा आज साँझ सकिँदैछ । उक्त निर्वाचनमा अध्यक्षका प्रत्यासी ठानिएका कुल आचार्यले उम्मेदवारी मनोनय नगराउने बताए । ग्लोब नेपालका लागि एस्किना थापाले आचार्यसँग गरेको संक्षिप्त कुराकानी–

० उम्मेदवारी दिने आज अन्तिम दिन, तपाईंको उम्मेदवारी दर्ता हुन्छ ?
– मेरो उम्मेदवार दर्ता हुँदैन, विधान विपरित संस्था कब्जा गर्ने नियतले सम्पूर्ण एनआरएनएको आँखामा छारो हाल्न गरिने निर्वाचनमा मेरो सहभागिता रहँदैन ।

० त्यसो भए के हुन्छ अब ?
– एनआरएनए एनसीसी भेलाकाे निर्णय अनुसार संस्था अघि बढ्छ । संस्थाको एनसीसी नै महत्वपूर्ण अंग हो । संरक्षण परिषद्ले निर्वाचन समिति विघगठन गरेर नयाँ समिति बनाएको छ । संरक्षण परिषद्ले निर्वाचन मितिसमेत घोषणा गरिसकेको अवस्था छ । निर्धारित मितिमा नेतृत्वका लागि चुनाव हुन्छ, र त्यही नेतृत्वले संस्था हाँक्छ ।

० तपाईंहरुलाई विधानविपरित गतिविधि गरेको आरोप छ नि ?
– जसले आफूलाई संस्थापक भनिरहेका छन्, उनीहरु विधान विपरित गतिविधि गरिरहेका छन् । विधानले अप्ठ्यारो परिस्थितिमा संस्था बचाउने जिम्मा संरक्षकलाई दिइएको छ । गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार संरक्षक परिषद्ले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

० एनआरएनए अब दुईवटा भयो भनेर बुझ्दा हुन्छ ?
– अर्को कुन पक्ष हो थाहा छैन, तर नेतृत्वविहीन हुँदा संस्था बचाउने जिम्मेवारी संरक्षण परिषद्को हो । विधानतः संरक्षण परिषद्ले आयोजना गरेको महाधिवेशन र नेतृत्व चयन नै आधिकारिक हुन्छ ।

० संसारभरका नेपालीलाई तपाईंको सन्देश ?
– निश्चित व्यक्तिहरुले ‘कू’ मार्फत् संस्था कब्जा गर्ने प्रयास गरिरहेका छन्, त्यो हामी सफल हुन दिँदैनौं । भ्रमको खेती गर्नेहरुबाट हामी सचेत रहनुपर्छ । एनआरएनए संसारभरि छरिएका नेपालीहरुको साझा संस्था हो । हदैसम्मको लचकता अपनाउँदा पनि संस्था कब्जा गर्ने नियत बोकेकाहरुबाट टसमस भएनन् ।