कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह



सर्लाही । नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएकाे हाे ।

सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।

उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७६४ मतसहित विजयी भएका छन् ।

सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् ।

कांग्रेस अधिवेसनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गरे । सदस्यको मतगणना भने होलीपछि हुने छ । यद्यपि निर्णय भइसकेकाे छैन । यस विषयमा सोमबार दुवैपक्षसँग छलफल हुने निर्वाचन अधिकृत सिंहले बताए । कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिबार मतदान भएको थियो ।