रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १८ दिनमा युक्रेनको पश्चिमी शहर याभोरिभमा रहेको शैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । छिमेकी मुलुक पोल्याण्ड प्रवेश गर्न लागेका युक्रेनी नागरिकहरु आक्रमणको निसानामा परेका छन् । घटनामा ३५ जनाको मृत्यु भएको छ भने १ सय ३४ जना घाइते भएका छन् ।
बिबिसीले विष्फोटपछि घटनास्थलमा ठूलो खाडल भएको र नजिकैको भवनमा आगलागीका कारण धुवाँको मुस्लो निस्किएको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार क्षेप्यास्त्र प्रहारले रातिको समय आकाश पूरै रातो भएको थियो । पछिल्लो आक्रमणले द्वन्द्व चाँडै पश्चिमका हालसम्मका शान्तिपूर्ण क्षेत्रहरूमा फैलिने त्रास बढेको छ । युक्रेनको युद्धग्रस्त क्षेत्र इर्पिन शहरमा अमेरिकी पत्रकारको गोली हानी हत्या गरिएको छ ।
न्युयोर्क टाइम्समा कार्यरत ५० वर्षीय पत्रकार तथा चलचित्र निर्माता ब्रेन्ट रिनाउड रुस युक्रेन युद्धमा मारिने पहिलो पत्रकार हुन् । रुसी सेनाले निसाना बनाएर गोली हानेको किभका प्रहरी प्रमुखले जनाएका छन् ।
घटनामा अन्य २ जना पत्रकार पनि घाइते भएको बताइएको छ । रुस युक्रेन माथि थप आक्रामक रुपमा प्रस्तुत भएकाले युद्ध कहिले अन्त्य होला भन्ने अनिश्चितता बढ्दै गएको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग हतियारसहित सहयोग मागेको खबर समेत बाहिरिएको छ । यसले युद्धले झन् जटिल रुप लिने अनुमान विश्लेषकहरुले गरेका छन् ।
प्रतिक्रिया