‘न्यू इअर विथ न्यू एअरपोर्ट’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

‘न्यू इअर विथ न्यू एअरपोर्ट’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल



भैरहवा । गौतमबुद्ध विमानस्थलको व्यावसायिक उडानका लागि कुवेतको जजिरा एयरलाइन्सले प्रस्ताव पठाएसँगै अन्य देशको पनि चासो बढेको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) बिहीबार प्राधिकरणले सार्वजनिक गरेको थियो ।

एआइपी भनेको विमान अन्तर्राष्ट्रिय उडानका लागि योग्य छ भनी जारी गरिएको सूचना हो । बुद्ध पूर्णिमादेखि व्यावसायिक उडानको तयराीमा रहेको विमानस्थलका लागि प्राधिकरणले वेबसाइटमार्फत सूचना जारी गरेपछि कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत नियमित उडानका लागि प्रस्ताव निवेदन पठाएको होे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले अन्तर्राष्ट्रिय उडान भर्नग जजिरा एयरवेजले नागरिक उडड्यन प्राधिकरणलाई इमेलमार्फत प्रस्ताव पठाएको बताए । अन्य देशका एयरलाइन्स ओबान, थाइल्यान्ड, हिमालयनलगायतले उडानका लागि चासो राखे पनि एआइपी जारी भएपछि पहिलो एयरलाइन्सको रूपमा जजिराले औपचारिक प्रस्ताव पठाएको हो । यान्त्रिक परीक्षण उडानपछि एरो थाईले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाएको १० दिनपछि प्राधिकरणले एआइपी सार्वजनिक गरेको थियो ।

‘न्यू इअर विथ न्यू एअरपोर्ट’ अनुसार आगामी १ वैशाखदेखि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने तयारी छ । विमानस्थलले अबको केही दिनमै नागरिक उड्डयन संगठन (आइकाओ)को सर्टिफिकेटसमेत पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको छ ।

विमानस्थल सञ्चालन तथा व्यवस्थापनका छलफल भइरहेको र प्राधिकरणबाटै कर्मचारीहरू समेत व्यवस्थापन भइरहेको छ । विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले भने ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकायलगायतसँगको छलफलपछि २ जेठमा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको विमानस्थलका महाप्रबन्धक दाहालले बताए । १ वैशाखमा परीक्षण उडानका तयारी भइरहेकोमा १५ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा हुने दाहालले बताए ।

कुवेतका लागि जजिराले कठमाडौंबाट दैनिक उडान भर्दै आएको छ । जजिराले कुवेतबाट भैरहवा र भैरहवाबाट कुवेत दैनिक उडानका लागि निवेदन दिएको छ । २ जेठमा बुद्ध जयन्तीको अवसर पारेर जजिरा एयरलाइन्सले नियमित उडान सुरु गर्ने प्रस्तावमा उल्लेख छ ।
एआइपी जारी गरेपछि सुझाव लिन ४५ दिनसम्मको समय रहन्छ । यो समयमा त्रुटि सच्याउने, जानकारी थप्नेलगायतको काम गर्न सकिन्छ ।

प्राधिकरणले यसैलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई पठाउनुपर्छ । आइकाओ संयुक्त राष्ट्रसंघ मातहतको विशेष निकायहो यसले विश्वभरको हवाई सेवा विकास र व्यवस्थापन गर्ने गर्छ । नेपाल पनि आइकाओको सदस्य हो, नेपालको अनुरोधअनुसार आइकाओले विश्वभरका वायुसेवालाई नयाँ विमानस्थल थपिएको जानकारी दिन्छ यो अनिवार्य प्रक्रिया हो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमान भैरहवामा आकस्मिक अवतरण गर्न बाटो खुला हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको जहाज भारत र बंगलादेश डाइभर्ट भएर जाने बाध्यता छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विकल्पको रूपमा हुनेछ । कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेमा यहाँ डाइभर्ट गरिन्छ । भैरहवा विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि उडान अवतरण हुन्छ, त्यस्तै तीन किलोमिटर रनवेका कारण पनि अब जहाज नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्था अन्त्य हुनेछ ।