के नेकपा एमाले चुनावी गठबन्धन गर्छ ?

के नेकपा एमाले चुनावी गठबन्धन गर्छ ?


ग्लोब नेपाल
540
Shares

काठमाडौं । आसन्न स्थानीय चुनावलाई लक्षित गरेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न खोजिरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । यो विषयमा नेपाली कांग्रेसभित्र भने थरीथरीको धारणा छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमार्फत नै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । तर, अन्य नेताहरु भने कांग्रेस एक्लै चुनावमा जाननुपर्ने बताइरहेका छन् । यसका लागि कांग्रेसले एक महिने चुनावी अभियानपश्चात निर्णय गर्नेछ ।

सत्ता गठबन्धन स्थानीय चुनावमा कसरी प्रस्तुत हुन्छन भन्ने भन्दा पनि नेकपा एमाले कसरी जान्छ होला भन्नेमा धेरैको चाँसो देखिन्छ । एमाले नेताहरू अहिलेसम्म एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर, एमाले अध्यक्ष केपी ओली भने आफू जित्नको लागि साम, दाम, दण्ड, भेद सबै खालका उपाय अपनाउने रणनीतिमा छन् । यसको अर्थ एमालेसँग अन्य दलको चुनावी तालमेल हुँदैन पनि भन्न सकिने अवस्था छैन ।

विशेषगरी, जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), कमल थापा नेतृत्वको राप्रपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी एमालेसँग चुनावी गठबन्धन बनाएर लड्ने तयारीमा छन् । त्यसका लागि यी पार्टीका नेताहरूले एमाले अध्यक्ष ओलीसँगको भेटघाट तथा छलफललाई तीव्रता दिएका छन् ।

दोस्रो तहका नेताहरूबीच पनि चुनावी गठबन्धन गर्ने विषयमा छलफल चल्दै आएको छ । अनौपचारिक सम्वाद चलिरहेको छ । यो सम्वाद सकारात्मक दिशामा अघि बढिरहेको नेताहरु बताउँछन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा एमालेसँग सहकार्यको प्रयास भइरहेको बताए ।

अध्यक्ष थापाले एमालेसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको बताए । एमालेसँग छलफलअघि बढाउन जिल्ला अध्यक्षहरुलाई निर्देशन नै दिएका छन् ।

जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा थापाले भने, ‘हामी चुनावमा एमालेसँग सहभागी गर्ने प्रयासमा छौं । तपाईंहरू एमालेसँग स्थानीयस्तरमा कुरा थाल्नुस्, कतै अगाडि बढ्ने अवस्था भयो भने केन्द्रबाट सहजीकरण गर्छौं ।’

अध्यक्ष थापा र एमाले अध्यक्ष ओलीबीच अनौपचारिक सम्बाद चलिरहेको छ । राप्रपा नेपाल प्रवक्ता बसन्तमानसिंह अधिकारीले स्थानीय चुनावमा गठबन्धन वा निश्चित तहमा सहकार्यको विषयमा छलफल भइरहेको बताए ।

यस्तै लोसपा पनि एमालेसँगै चुनावमा होमिन खोजिरहेको छ । जसपासँग छुट्टिएपछि लोसपाको जनाधार कमजोर देखिएको छ । नतिजा आफ्नो पक्षमा पार्नका लागि पनि लोसपाले एमालेसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव अघि सारेको हो ।

लोसपा अध्यक्ष महन्त ठाकुरले जनकपुरको एक कार्यक्रममा एमालेसँग सहकार्य हुनसक्ने संकेत गरेको थिए । तर, लोसपा नेताहरुले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल चलाइरहेका छन् । लोसपाले अघि सारेको मागहरु पुरा भएको खण्डमा कांग्रेससँग पनि सहकार्य गर्न सकिनेछ ।

लोसपा नेता केशव झाले अहिलेसम्म कुनै दलसँग औपचारिक छलफल नभएको बताए । छलफल भएको खण्डमा जुनसुकै पार्टीसँग पनि गठबन्धन वा सहकार्य गर्न लोसपा तयार रहेको उनको भनाइ छ ।

‘एमालेसँग छलफल हुने अवस्था थियो । तर, अहिले हाम्रै पार्टी नेता कार्यकर्तालाई आफ्नो पार्टीमा लैजाने काम गरिराख्नुभएको छ । जसले गर्दा पनि सहकार्यको समभावना कम देखिन्छ,’ नेता झाले भने ।

लोसपाले सहकार्य र चुनावी गठबन्धनको लागि ढोका खुल्लै राखेको बताए । नेकपा एमालेले अहिले तराई मधेशमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति अपनाएको छ । मधेशमा आफ्नो बलियो उपस्थितिका लागि पनि एमालेले लोसपासँग सहकार्य गर्ने मनस्थिति देखाएको हो ।

पार्टी विभाजनपछि मधेशमा पनि एमाले कमजोर छ । एमालेभन्दा बलियो मानिएको नेकपा एकीकृत समाजवादीलाई कमजोर पार्नको लागि पनि एमालेले लोसपासँग सहयर्का गर्ने मनस्थिति बनाएको हो ।

त्यस्तै एमालेले नेतृत्व गर्ने गठबन्धनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि थपिन सक्छ । अहिले जनमत पार्टी तराईमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । उसले जसपालाई आफ्नो निशानामा राखेको छ । त्यसका लागि लोसपा पनि जनमत पार्टीसँग सहकार्य र गठबन्धनको लागि तयारी अवस्थामा देखिएको छ । एमालेले आफ्नो उपस्थिति कमजोर देखिएको क्षेत्रमा चुनावी तालमेल गर्ने पक्षमा छ । त्यसका लागि सत्तारुढबाहेकका दलसँग अनौपचारिक छलफल चलाइरहेको छ ।

तर, एमाले नेताहरू भने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने दाबी गर्छन् । एमाले सचिव टोपबहादुर रायमाझी स्थानीय तह निर्वाचनमा एमाले कसैसँग गठबन्धन गर्ने पक्षमा नरहेको बताउँछन् । आफ्नो एजेण्डा लिएर जनतामाझ जाने दाबी गर्दै त्यसका लागि कसैसँग पनि सहकार्य गर्न आवश्यक नरहेको प्रष्ट पारे ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले भने चुनावी तालमेल वा गठबन्धनका लागि एमालेले अहिलेसम्म कसैसँग पनि छलफल नचलाएको बताए । एमाले एक्लै चुनाव लड्ने पक्षमा रहेको उनको भनाइ छ ।

हुनत राजनीतिमा नैतिकता भन्ने कुरा हुँदैन । अहिले पानी बाराबारको अवस्थामा रहेका ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच पनि चुनावी तालमेल नहोला भन्न सकिने अवस्था छैन । जसको क्लू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिइसकेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले धोका दिएमा एमालेसँग गठबन्धनको सम्भावना कायमै रहेको बताएका छन् ।

प्रेस सेन्टर लुम्बिनीले आज (बिहीबार) बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने बताए । एमालेसँगको सम्भावित तालमेलबारे पत्रकारले गरेको प्रश्नमा प्रचण्डले तत्काल केपी ओली र उनको पार्टीसँग तालमेल सम्भावना नभएको उल्लेख गरे । एमालेसँगको गठबन्धन कांग्रेसको व्यवहारमा पनि निर्भर हुने बताए ।

‘कांग्रेसका केही नेताहरुले माओवादी केन्द्रसँग कुनै हालतमा तालमेल हुँदैन भनिरहेका छन् । केही नेताहरू अतिवादी ढंगले बोलिराख्नु भएको छ,’ प्रचण्डले भने, ‘कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर, अहिले प्रधानमन्त्री शेरबहादुर देउवा यो गठबन्धनलाई हर हालतमा बचाएर जानुपर्छ भन्नेमा हुनुहुन्छ । त्यहीकारण मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन ।