मेरिल्याण्ड राज्य संसदमा दशैं विधेयक बहुमतले पारित

मेरिल्याण्ड राज्य संसदमा दशैं विधेयक बहुमतले पारित

नेपालको दशैंलाई अमेरिकामा कानुनी मान्यता दिलाउने पहिलो प्रयास


ग्लोब नेपाल
2.2k
Shares

बाल्टिमोर । मेरिल्याण्ड राज्यको संसदमा नेपालीहरुको महान चाड दशैं सम्बन्धी बिधेयक भारी बहुमतले पारित भएको छ। राज्य संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा स्थानीय समय अनुसार शुक्रवार यो विधेयक पारित भएको हो। बिधेयक नेपाली मूलका पहिलो जननिर्वाचित प्रतिनिधि डेलिगेट ह्यारी भण्डारीले अन्य विधायकहरुका साथमा पेश गरेका थिए ।

विधेयकको पक्षमा १ सय २३ जना सदस्यले समर्थन जनाएका थिए भने विपक्षमा पाँच जनाको मात्र मत परेको थियो। भण्डारी अमेरिकामा राज्य संसदमा निर्वाचित हुने नेपाली मूलको पहिलो प्रतिनिधि हुन्। उनको पुर्ख्यौली थलो नेपालको पर्वत जिल्ला हो।

शुक्रवार तल्लो सदनबाट पारित भएको दशैं विधेयकको प्रस्तावनामा असत्यमाथि सत्यको बिजयको रुपमा नेपालीहरुले मनाउने सबैभन्दा ठूलो सांस्कृतिक चाड भनी उल्लेख छ। यो विशेष चाडलाई मेरिल्याण्ड राज्यमा रहेका नेपालीहरुले उत्सवका रुपमा मनाउनका लागि हरेक वर्षको अक्टुबर ५ तारिखका दिनलाई ‘दशैं डे’ को रुपमा मान्यता दिने कानुन बनाउन प्रस्ताव गरिएको छ। शुक्रवार राज्य संसदको तल्लो सदनबाट अत्यधिक बहुमतका साथ पारित भएपछि विधेयकको प्रारम्भिक सफलता प्राप्त भएको छ।

अब के हुन्छ ?
संसदको तल्लो सदनबाट अत्यधिक बहुमतले प्राप्त भएको यो विधेयक कानुन बन्न अझै धेरै अड्चन पार गर्नुपर्छ। अब यो विधेयक संसदको माथिल्लो सदन सिनेटमा पेश हुनेछ। सिनेटले पनि पारित गरेमा संसदको दुवै सदनले संयुक्त रुपमा पारित गर्नेछ र कानुन बनाउनका लागि राज्यका गभर्नरसमक्ष यो विधेयक पेश हुनेछ। मेरिल्याण्ड राज्य संसदको दुवै सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत छ। तर राज्यका प्रमूख (गभर्नर) भने रिपब्लिकन पार्टीका छन्। गभर्नरसँग यस्तो विधेयकलाई कानुनी मान्यता दिने वा नदिने भन्ने विशेष अधिकार रहेको हुन्छ। गभर्नरले नचाहेमा त्यही विशेष अधिकार (भिटो) प्रयोग गरेर जुनसुकै विधेयकलाई पनि गभर्नरले खारेज गरिदिन सक्छन्। गभर्नरले खारेज गरेको विधेयकलाई संसदमा बहुमत सदस्यले प्रति विशेष अधिकार प्रयोग गरेर कानुन बनाउने बाध्यात्मक परिस्थितिको सिर्जना गर्न सक्छन्। संसदले समेत भिटो प्रयोग गरेमा चाहिं गभर्नरले कानुनी मान्यता दिनबाट रोक्न सक्दैनन्।

तसर्थ दशैं बिधेयकले कानुनी मान्यता पाउन अझै प्रक्रिया लामो छ। जसलाई डेलिगेट भण्डारीले पनि प्रष्ट पार्दै भनेका छन्,-‘ अझै विधेयक कानून बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बेलीमा पारित गराएर महत्वपूर्ण खुट्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु। हामीसँग यो प्रक्रियाका लागि थोरै समय छ, काम भने अझै पनि धेरै बाँकी छ।’

भण्डारीले पहिलो चरणको सफलताबाट आफु निकै उत्साहित भएको भन्दै आफ्नो फेसबुक वालमा हामीले इतिहास बनायौं, बधाई हामी सबैलाई भन्दै स्टाटस समेत लेखेका छन्।