नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम

नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम


ग्लोब नेपाल
189
Shares

१) नागरिकको घरघरमा पुगेका नेता कार्यकर्ताहरुले सबैभन्दा पहिले नागरिकले सोध्ने सम्भावित सबै प्रश्नको जवाफ दिन सक्षम छु कि छैन भनेर आत्ममूल्यांकन गर्नुपर्छ ।

२) कांग्रेसका नेता पुगेका कारण नागरिकको दैनिकीमा असर पर्नुहुँदैन । त्यसैले घर–घरमा पुग्दा उनीहरुको नियमित कामलाई असर नपर्ने बेलामा पुग्नुपर्छ । मिलेसम्म उनीहरुको काममा पनि सघाउनुपर्छ ।

३) औपचारिक कार्यक्रमका लागि अत्यधिक खर्च र तामझाम गर्नुभन्दा अनौपचारिक ढंगले टोल–टोलमा पुगेर आम मतदाताबीच पार्टीका प्रष्ट कुराहरु राख्नुपर्छ ।

४) विगतमा सरकारमा रहँदा कांग्रेसबाट भएका कमजोरीले नागरिकमा नकरात्मक प्रभाव परेको हुनसक्छ । त्यसबारे प्रसंगमा संयमताका साथ आफ्नो कुरा राख्ने, गल्ती भएका विषयमा आत्मालोचना गर्ने र नागरिकको नजरमा कमजोरी ठहरिएका विषयहरु फेरी दोहोरिने छैनन् भनेर प्रतिवद्धता जनाउनुपर्छ ।

५) कांग्रेस सरकारमा हुँदा मुलुकले हासिल गरेका महत्वपूर्ण उपलब्धी, त्यसबाट आजसम्म समाजमा परेको सकरात्मक प्रभावका बारे मतदातालाई बुझाउनुपर्छ । कांग्रेसको नेतृत्वमा कार्यान्वयन भएका सफल आयोजनाहरुबारे मतदातालाई अपडेट गराउनुपर्छ ।

६) पार्टी सरकारमा हुँदा परिचालन भएकोे वैदेशिक सहायता वा अनुदानले पारेको सकरात्मक प्रभावलाई सही ढंगले बुझाउन सक्नुपर्छ । एमसीसी लगायतका वैदेशिक सहायताबारे छरिएको भ्रम चिर्न मतदातासँग अत्यधिक संवाद गर्नुपर्छ ।

७) विगतमा कम्युनिष्ट पार्टीहरुले विभिन्न बाहनामा कार्यान्वयन हुन नदिएका ठूला विकास परियोजनाहरु बन्न नसक्दा परेको असर र विकासमा पुगेको बाधाबारे हरेक मतदातालाई अवगत गराउनुपर्छ ।

८) कांग्रेस नेतृत्वका स्थानीय तहले गरेका राम्रो कामको प्रचारसँगै कतिपय पूरा गर्न नसकिएका योजनाबारे नागरिकलाई पारदर्शी कुरा राख्नुपर्छ । कांग्रेसले प्रतिवद्धता गरेको कुनै काम गर्न बाँकी रहेछ भने त्यसमा आत्मालोचना गरेर सम्बन्धित जनप्रतिनिधिकै रोहबरमा आगामि दिनमा ती प्रतिवद्धता कार्यान्वयन गर्ने सुनिश्चितता गर्नुपर्छ ।

९) अघिल्लो निर्वाचनमा पार्टीले तयार पारेको घोषणा पत्र अनुसार भएका काम र हुन नसकेका कामको सूची बनाएर अध्ययन गर्नुपर्छ । अब घोषणापत्र बनाउँदा विगतमा हुन नसकेका आवश्यक कामहरुप्रति थप प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै घोषणा पत्र अनुसार काम गर्न नसकेका विपक्षी दलका जनप्रतिनिधिरुबारे मतदातालाई थाहा दिनुपर्छ ।

१०) कांग्रेसले नै नेपालीलाई प्रजाबाट नागरिक बनाएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको उपस्थिति आन्दोलनको मात्रै अगुवाई गर्ने नभएर विकास र सुशासनको अग्रसरता लिनपनि महत्वपूर्ण छ । आम नेपालीलाई रैती, प्रजा वा जनता नभएर सार्वभौम नेपाली नागरिकका रुपमा सम्बोधन गरेर कांग्रेसले अभियानलाई प्रभावकारी बनाउनुपर्छ ।