तमोर कोरिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

तमोर कोरिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर कोरिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबार आङना–मौवा वृहत लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै देउवाले भने, ‘तमोर कोरिडोर आयोजनाको ट्रयाक खोलिसकिएको छ । छिटो कालोपत्रेको प्रक्रिया थाल्न म निर्देशन दिन्छु ।’

तमोर कोरिडोर कालोपत्रे भए पूर्वी पहाडमा उत्पादित कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुने छ । आयोजनाको एउटा खण्ड पाँचथरको माझिटारदेखि सुनसरीको चतरासम्मको निर्माण कार्यको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलाई छ ।

अर्को खण्ड माझिटारदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भने उत्तर–दक्षिण–दोभान ओलाङचुङगोला कार्यालयलाई निर्माणको जिम्मा छ । यी दुई आयोजना कार्यालयलाई कालोपत्रेको प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।
यस्तै, विस्तृत परियोजना प्रतिवेदन तयार भएको सप्तमी–दशमी–मौवा–आङ्ना–लखुवादोभान मोटरबाटो निर्माणको काम पनि छिट्टै थालनी हुने बताए ।