म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण

म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण


ग्लोब नेपाल
162
Shares

रसुवा । म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाको आकर्षण बढेको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढेको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय ६३ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरी बन्नका लागि आइबारदेखि आवेदन खुला गरिएको छ । आवेदन खुला गरेसँगै जिल्ला प्रहरी कार्यालय रसुवामा आवेदन दिन जानेको भिड लागेको छ ।

आवेदनको भर्ना खुलेको आईतबार र सोमबार दुई दिनमा एक सय ८४ जनाले आवेदन दिइसकेका छन् । जसमध्ये ३६ जना महिला र एक सय ४८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत युवा रहेको सापकोटाले जानकारी दिए । एसईई दिएका, म्यादी प्रहरीमा यसअघि नै काम गरिसकेका, भुतपूर्व सैनिक प्रहरीलगायतले आवेदन दिन आइरहेको उनको भनाइ रहेको छ ।

आइतबारदेखि सुरू भएको म्यादी भर्ना कार्यक्रम यही ११ चैत साँझ ५ बजेसम्म रहने भएको छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताईएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।