काठमाडौं महानगरको मेयर र उपमेयरमा कसले बाजी मार्ला ?

काठमाडौं महानगरको मेयर र उपमेयरमा कसले बाजी मार्ला ?


ग्लोब नेपाल
356.2k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन माहोलले देश तातेको छ । सत्ताधारी नेपाली कांग्रेसले आवश्यकता अनुसार गठबन्धन गरेर निर्वाचनमा जाने निष्कर्ष निकालिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धनका लागि गतिलो साझेदार राजनीतिक दल नभेटेपछि गठबन्धनसँग सिंगल भिड्ने भनेर डुक्रिरहेको छ । अर्थात् सबै राजनीतिक दल स्थानीय निर्वाचनमा प्रतिस्पर्धाका लागि युद्धस्तरमा तयारीमा जुटेका छन् ।

निर्वाचनमा कुन राजनीतिक दल कसरी प्रस्तुत हुने भन्ने चर्चाले किनारा पाइसकेपछि ७ सय ५२ पालिका हाँक्ने योग्य टिमको खोजिमा राजनीतिक दलहरु जुटेका छन् । यो चर्चामा काठमाडौं महानगरपालिका पनि अछुतो छैन । देशकै राजधानी यो महानगरपालिकामा समेटिएकाले यसको चर्चा झन् व्यापक किसिमले भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका वर्तमान मेयर विद्यासुन्दर शाक्य नेकपा एमालेबाट विजयी भएका हुन् । उनको यो कार्यकाल बिर्सनलायक रह्यो । सम्भावना प्रचुर भए पनि मेयर शाक्यको क्षमता अभावले पाँच वर्षअघि र अहिलेको काठमाडौंमा कुनै अन्तर छैन । सडकको फोहोर, बिजुली, पानी, सडकको अवस्थाले महानगरवासीलाई हुनसम्मको दुख दियो । भौतिक पूर्वाधार निर्माणमा काठमाडौं महानगरवासीले परिवर्तनको महसुस गर्न पाएनन् । बरु असक्षम नेतृत्वलाई मतदान गरिएछ भन्ने महानगरवासीलाई पछुतो भएको छ ।

कसले हाँक्छ त काठमाडौं महानगर भन्ने चर्चाले यतिबेला व्यापकता पाएको छ । एमालेबाट वर्तमान मेयर शाक्य नै दोहोरिन चाहन्छन भने उनलाई पूर्व सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले चुनौति दिइरहेका छन् । यता पूर्वमेयर केशव स्थापित पनि कन्दनीदेखिको बल लगाएर मेयरको टिकट हात पार्न लागिपरेका छन् ।

यता, नेपाली कांग्रेसबाट पनि काठमाडौं महानगरपालिकामा चारजना आकांक्षी देखिएका छन् । पूर्वमन्त्री तीर्थराम डंगोलदेखि युवा नेता प्रगतिमान रञ्जीतसम्मले मेयर बन्ने आकांक्षा देखाएका छन् । उपमेयर हरिप्रभा खड्गी तथा नेपाली कांग्रेसका नगरसभापति नीलकाजी शाक्यले पनि मेयरको उम्मेदवारीका लागि कसरतमा लागेका छन् । यी चारमध्ये एकजनाले नेपाली कांग्रेसको तर्फबाट मेयरको टिकट पाउने पक्काजस्तै छ । त्यसमा पनि पूर्वमन्त्री डंगोलको व्यक्तित्व र प्रभावकाकारण उनको सम्भावना प्रवल छ ।

यता उपमेयरमा भने भद्रा पराजुली भण्डारीको एक्लो चर्चा छ । समाजसेवी र इमान्दार कार्यकर्ताको छवि भएकी भण्डारीलाई महानगरवासीले स्वभाविक रुपमा लिएका छन् । भण्डारी महिला संघको केन्द्रीय सदस्य, नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य, बागमती प्रदेश निर्वाचित सदस्य तथा नेपाली कांग्रेस संसदीय बोर्ड सदस्यको जिम्मेवारीमा छिन् ।

यतिमात्र उनको परिचय होइन, नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय भूमिकामा रहेर जिम्मेवारी पूरा गरेकी भण्डारीले सफल समाजसेवी र कुशल व्यवसायीको परिचय पनि बनाएकी छन् । समाजशास्त्रमा स्नातोत्तर गरेकी भण्डारीकाे समाजसेवाले धेरै महिलाले राहत महसुस गरेका छन् भने उनका व्यवसायहरुले थुप्रैलाई रोजगारी दिएको छ ।