स्थानीय निर्वाचनमा एमालेलाई शुन्य बनाउने प्रण गर्दै ओखलढुंगाका ४५ जना संगठित सदस्य कांग्रेस प्रवेश

स्थानीय निर्वाचनमा एमालेलाई शुन्य बनाउने प्रण गर्दै ओखलढुंगाका ४५ जना संगठित सदस्य कांग्रेस प्रवेश


ग्लोब नेपाल
108
Shares

ओखलढुंगा । स्थानीय निर्वाचनकाे मिति नजिकिदै गर्दा विभिन्न दलहरु त्यागेर नेपाली कांग्रेस प्रवेश गर्नेक्रम देशव्यापीरुपमा जारी छ । यसैक्रममा नेकपा एमाले ओखलढुंगाका जिल्ला कमिटी सदस्य र वडाका पदाधिकारी सहित ४५ जना संगठित सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । याेसंगै ओखलढुंगा एमालेमा पहिराे गएकाे छ । एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य सिताराम दाहाल, सिद्धिचरण नगरपालिका वडा कमिटी सचिव एकबल्लभ दाहाल, सहसचिव अस्विन दाहाल लगायतका नेताहरु एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्यस्तै वडा कमिटी सदस्यहरु निर्माण दाहाल, मिनाकुमारी खत्री धर्मप्रसाद दाहाल, लोकबहादुर खत्री, मनिष दाहाल, राधा सुवेदी, हिमला खत्री, भिमबहादुर खत्री, अनिल भुजेल, नरबहादुर भुजेल, पूर्णबहादुर भुजेल सहित एमालेका ४५ जना संगठित सदस्य एमाले परित्याग गरी कांग्रेसमा समाहित भएकाे नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले ग्लाेब नेपाललाई जानकारी दिए ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार, जिल्ला सभापति तेजेन्द्र खनाल, नेता बालकृष्ण दाहाल लगायतका नेताहरुले सदस्यता सहित खादा मालाले स्वागत गरेका थिए । एमाले जिल्ला सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका सिताराम दाहाललाई नेपाली कांग्रेसले पनि जिल्ला सदस्यको जिम्मेवारी दिएको सभापति खनालले बताए ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ३ एमालेको पुरै कमिटी नेपाली कांग्रेसमा प्रवेश गरेसँगै वडास्तरमा एमाले शुन्य भएको नवप्रवेशीहरुले बताएका छन् । एमालेको संगठनलाई भरथेग गरेर राखेका सिताराम दाहाल, एकबल्लभ दाहाललगायत कांग्रेस प्रवेश गरेका कार्यकर्ताहरुले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई शुन्य बनाउने प्रण गरेका छन् ।

नगरपालिकाभित्रका नागरिकलाई एमालेले पाँच वर्षमा झुटा आश्वासन दिएको र जनताबाट जबरजस्त कर उठाउने, भ्रष्टाचार गर्ने र नागरिकले पाउने सेवा प्रवाहमा सिरियस नभएको भन्दै एमाले छाडेको उनीहरुले बताएका छन् । स्थानीय तहकाे चुनाव नजिकिदै जाँदा अन्य दलहरूबाट पनि कांग्रेसमा प्रवेश गर्नेहरूकाे लहर चलेकाे नेपाली कांग्रेस ओखलढुंगाले जनाएकाे छ ।