फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राई पक्राउ

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राई पक्राउ


ग्लोब नेपाल
108
Shares

इलाम । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) लाई प्रहरीले पक्राउ गरेका छ । केही दिन अघि कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद समाधानका लागि भएको वार्तामा सर्वसाधारणमाथि कुटपिटको गरेकाे उनीमाथि आरोप लागेको छ । आरोप लागेसँगै राई जिल्ला प्रहरी कार्यालयमा आफै आएको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

इलामका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले उपाध्यक्ष राई कार्यलयमा आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढेको बताए । अनुसन्धानको लागि म्याद थपको प्रक्रिया बढिसकेको थापाको भनाई छ ।

गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद समाधान गर्न बसेको वार्तामा कुटपिटपछि प्रहरीमा उजुरी परेको थियो । सहमतिका लागि भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु)ले एक युवकलाई कुटपिट गरेको आरोप लागेको थियो ।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाबीच शुक्रबार वार्ता भएको थियो । वार्तामा सहमति हुन नसकेपछि दुवै पक्ष अर्काे चरणको वार्ता गर्ने गरी बाहिरिएका थिए । अर्काे चरणको वार्ताका लागि गाउँपालिकाले वडाध्यक्ष टेकवीर नेम्बाङको नेतृत्वमा वार्ता टोलीसमेत गठन गरेको थियो ।

अर्काे चरणको वार्ता सुरु हुनुअघि उपाध्यक्ष राईले वडा १ का कृष्णबहादुर खड्कालाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । गाउँपालिका उपाध्यक्ष सरु राईले कुटपिटको विषयमा आफूले नगरेको कामको पटक पटक आरोप लगाएको र मनपरि बोलेपछि कुटपिट गरेको स्वीकारेकी थिइन् ।