जसले आफैँलाई मतदान गरेनन् र शून्य मतमा पराजित भए

जसले आफैँलाई मतदान गरेनन् र शून्य मतमा पराजित भए


ग्लोब नेपाल
162
Shares

तनहुँ । स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी हप्पकै बढेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरुको दौडधुप निकै बढ्दो छ । राजनीतिक दल यतिबेला वडा तहमा उम्मेद्वार बन्न आकंक्षीको सुची तयार पार्दै छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरूले भने धमाधम सामाजिक सञ्जाललाई प्रयोग गर्दै उम्मेद्‌वारी घोषणा गरिरहेको अवस्था छ । निर्वाचनमा उम्मेद्‌वारी दिएपछि सबैको रहर जित्ने हुन्छ । जित्नै नसके पनि कम्तिमा लोकप्रिय मत पाउनलाई कसरत धेरै उम्मेद्‌वारले गर्छन् नै । मतदाताको मन र मत जित्नलाई दौडधुप हुनु स्वभाविक पनि हो । तर, अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा तनहुँका केही उम्मेद्‌वारले आफैँले आफैँलाई समेत भोट हालेनन् । अर्थात आफैँलाई पत्याएनन् र उनीहरुले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेद्‌वारी फिर्ता लिए न आफैँलाई मतदान गरे ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौजना उम्मेद्‌वारको शून्य मत रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँकी सूचना अधिकारी दुर्गा आले मगरले बताइन् । तीन जना वडाध्यक्ष र छ जना वडा सदस्यका उम्मेद्‌वारले शून्य मत प्राप्त गरेको उनले जानकारी दिइन् । सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकाका चार जना, व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई/दुई जना र देवघाट गाउँपालिकाका एक जना उम्मेद्‌वारले आफैँलाई मतदान गर्न बिर्सिए ।

सूचना अधिकारी आलेका अनुसार व्यास नगरपालिका–१ मा पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडाध्यक्षमा उम्मेद्‌वारी दिएका उमराज नहर्की, शुक्लागण्डकी नगरपालिका–९ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेद्‌वार बनेका रामबहादुर नेपाली र देवघाट गाउँपालिका–५ मा स्वतन्त्र वडाध्यक्षमा उम्मेद्‌वारी दिएका कृष्णराज न्यौपानको मत शून्य आयो । यस्तै आँबुखैरेनी गाउँपालिका–४ मा स्वतन्त्र वडा सदस्यका उम्मेद्‌वार राजु गुरुङ र सुकबहादुर गुरुङ, स्वतन्त्र महिला वडा सदस्यको उम्मेद्‌वार कौशिला गुरुङ र स्वतन्त्र उठेकी दलित महिला सदस्य मनमाया कामीले पनि आफैँलाई मतदान गरेनन् ।

व्यास–१२ मा नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडा सदस्यमा निर्वाचन लडेका जनकबहादुर पन्थ क्षेत्री र शुक्लागण्डकी-३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट दलित महिला सदस्यमा उठेकी पार्वती विक पनि मतविहीन भए । उम्मेद्‌वारी फिर्ता नलिएका तर अरु उम्मेद्‌वारलाई सघाएको कारण पनि शून्य मत भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ ।जिल्लाको १० स्थानी तह र ८५ वडामा एक हजार ५८२ जनाले उम्मेद्‌वारी दिएका दिए । एक दलित महिला सदस्य र सात दलित तथा अल्पसंख्यक गरेर आठ जना निर्वाचन अगावै उम्मेद्‌वारी दर्तासँगै विजयी भए । ४६१ निर्वाचनमा होमिएर विजयी भएका थिए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर एक लाख ३२ हजार ९४४ मत मात्र खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् । खसेको मतमध्ये पनि तीन हजार १५४ मत बदर भएको थियो । यसपालि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । यतिबेला सबै राजनीतिक दलहरु उम्मेद्‌वार छनोटका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।