कङ्गोमा नेपाली सैनिकको मृत्यु

कङ्गोमा नेपाली सैनिकको मृत्यु


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कङ्गोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सैनिकको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सैनिक अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको उपचारको क्रममा त्यहीँ मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै यस घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन कङ्गोका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।