गत स्थानीय निर्वाचनमा कति थिए जननिर्वाचित निर्माण व्यवसायी

गत स्थानीय निर्वाचनमा कति थिए जननिर्वाचित निर्माण व्यवसायी

२०७४ को स्थानीय तह निर्वाचनमा कूल निर्वाचित संख्याको झन्डै एक चौथाई जनप्रतिनिधि निर्माण व्यवसायीहरु छन्



काठमाडौं । निर्वाचन आयोगले दुई अर्थ लाग्ने आचारसंहिता जारी गरेपछि आसन्न स्थानीय तहको निर्वाचनमा निर्माण व्यवायीहरुले सहभागी हुन पाउने कि नपाउने भन्ने संशय उत्पन्न भएको थियो । आयोगले गत चैत १६ गते जारी गरेको स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था जारी गरेको थियो । उक्त व्यवस्थाको (ठ) मा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा उम्मेदवार संलग्न नरहेको भन्ने उल्लेख गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘हामीले प्रष्ट भनेका छौं, दुविधा लिनुपर्ने कुनै कारण छैन । गाउँपालिका र नगरपालिकाको चल अचल सम्पत्ती र निर्माण ठेक्का सप्लाई एवम् परामर्श सेवा बन्दोबस्तीसम्बन्धी व्यवहारमा उम्मेदवार संलग्न भएको हुनु भएन । ठेक्का पट्टाको लाइसेन्स लिएको छु, उम्मेदवार बन्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा राख्नुपर्ने कुनै कारण छैन ।’

उम्मेदवारले स्वघोषणा गर्नुपर्ने र प्रमुख निर्वाचन आयुक्त थपलियाको अभिव्यक्तिले निर्माण व्यवसायीको लाइसेन्स लिएका व्यक्तिले उम्मेदवार हुन पाउने हो कि होइन स्पष्ट छैन । यो आचारसंहितका बारेमा विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरिएला तर उम्मेदवारी घोषणा हुनुअघि नै यो विषयमा स्पष्ट हुन जरुरी छ ।

नेपाल निर्माण व्यवसायी महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार स्थानीय निर्वाचन २०७४ मा १ सय ६७ जना निर्माण व्यवसायी जनप्रतिनिधिका रुपमा निर्वाचित भएका थिए । पहिलो चरणको निर्वाचनमा ६७ जना र दोस्रो चरणको निर्वाचनमा १ सयजना निर्माण व्यवसायी निर्वाचित भएका थिए । त्यसमध्ये नगरपालिकाको मेयरमा १३ जना, गाउँपालिका अध्यक्षमा १२ जना, वडाध्यक्षमा १०६ जना र ३४ जना वडासदस्य तथा दुईजना उपमेयर निर्वाचित भएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा कूल निर्वाचित संख्याको झन्डै एक चौथाई जनप्रतिनिधि निर्माण व्यवसायीहरु छन् ।
समाचारमा प्रयोग भएको स्केच खोज पत्रकारिता केन्द्रका लागि भुवनबहादुर सिंहले तयार पारेको आलेखबाट