इलन मस्कले गरे अमेरिकामा नयाँ पार्टी गठन

इलन मस्कले गरे अमेरिकामा नयाँ पार्टी गठन



काठमाडौं । विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन् ।

टेस्ला र स्पेस एक्सका मालिक मस्कले शनिबार ‘अमेरिका पार्टी’ गठन भएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको भोलिपल्ट विश्वकै धनाढ्य मस्कले अमेरिकामा नयाँ पार्टी गठनको घोषणा गरेका हुन् ।

‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,’ मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ, ‘तपाईंहरूले चाहनु भएको अनुसार नयाँ राजनीतिक दल हुनेछ ।’

आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्‍याउने पनि मस्कले बताएका छन् ।

नयाँ पार्टी घोषणासँगै मस्क र ट्रम्पबीचको सम्बन्ध थप चिसिने आकलन गरिएको छ ।

मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गरेका हुन् ।

मस्कले आफ्नो पोस्टमा भनेका छन्, ‘तपाईहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईले त्यो पाउनु हुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने कुरा आउँदा, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्रेट) एउटै हुन् । अब देशले दुई दलीय प्रणालीबाट मुक्ति पाउनेछ ।’

मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे । यसमा उनले सोधे, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनु पर्छ ?’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे ।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कर र खर्च कटौतीसम्बन्धी कानुन ‘बिग ब्यूटीफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए ।