स्थानीय तह निर्वाचन : आज मध्यरातदेखि आचारसंहिता लागू

स्थानीय तह निर्वाचन : आज मध्यरातदेखि आचारसंहिता लागू

के गर्न पाइँदैन ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता आज मध्यरातिदेखि लागु हुँदै छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि वर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।

यसैगरी योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

दलको निर्वाचन चिह्न, झन्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।