पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान


ग्लोब नेपाल
216
Shares

इस्लामावाद । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुंदैछ । सर्वोच्च अदालतले संसद विघटनको निर्णय उल्टाइदिएपछि आज अविश्वास प्रस्तावमाथि मतदान हुन लागेको हो । मतदानमा प्रधानमन्त्री खान पराजित हुने निश्चित जस्तै रहेको बीबीसीले जनाएको छ ।

खानको सरकारमा रहेका गठबन्धनका केही साझेदारले उनको साथ छोडेका छन् । मतदान अघि प्रधानमन्त्री खानले आफूलाई हटाएर विपक्षीको सरकार बनाए त्यसलाई मान्यता नदिने चेतावनी दिएका छन् ।

उनले अमेरिका र विपक्षीले षड्यन्त्र गरेर आफुलाई हटाउन खोजेको आरोप समेत लगाएका छन् । रुस र चीनविरुद्धका मुद्दाहरूमा वाशिंगटनसँग उभिन अस्वीकार गरेपछि आफूलाई अमेरिकाले षडयन्त्र गरेको उनको आरोप छ ।

अमेरिकाले आरोपमा कुनै सत्यता नभएको बताएको छ। विपक्षी सांसदहरूले गत आइतबार संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । तर संसदका उपसभामुख कासिम सुरीले विदेशी हस्तक्षेप देखाउँदै मतदान प्रक्रिया अवरुद्ध गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै तत्काल चुनाव गराउने निर्णय गरेका थिए । निर्णयविरुद्ध विपक्षी अदालत पुगेका थिए । गत बिहीबार सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक भन्दै आज मतदान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।