युक्रेनको रेलवे स्टेशनमा रुसी रकेट प्रहारबाट ५० जनाको मृत्यु

युक्रेनको रेलवे स्टेशनमा रुसी रकेट प्रहारबाट ५० जनाको मृत्यु

तर रुसले आक्रमण गरेको स्वीकार गरेको छैन



युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले रकेट आक्रमण गरेको हो । स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु गएको हो । गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार मृत्यु हुनेमा पाँचजना बालबालिका पनि छन् । घटनामा ३ सय जना घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेलवे स्टेशनमा भएको आक्रमण रुसले गरेको अर्को युद्ध अपराध रहेको बताउनुभएको छ । आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले अपराधका लागि भविष्यमा हुने सुनुवाइमा रुसलाई कानुनको दायरामा ल्याउने बताउनुभयो ।

यसअघि, जेलेन्स्कीले युक्रेन भ्रमणमा रहेकी युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितको टोलीसँग बुचा क्षेत्रको अनुगमन गरेका थिए । उर्सुलाले बुचामा सोच्नै नसकिने अपराध भएको बताएका थिए । त्यसको केही घण्टा भित्रै रेलवे स्टेशनमा आक्रमण भएको हो । उर्सुलासहितको टोली रेलमार्ग भएर पोल्याण्डबाट युक्रेन पुगेको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा ‘भयानक–आततायी अत्याचार’ गरेको बताएका छन् । रेलवे स्टेशनमा भएको मिसाइल आक्रमणको सन्दर्भमा उनले रुसको निन्दा गरेका छन् । तर रुसले भने आक्रमण गरेको स्वीकार गरेको छैन ।