काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ३३ दिन मात्रै बाँकी छ । यतिखेर जतासुकै निर्वाचनकै चटारोले छपक्कै छोपेको छ । यसैक्रममा उम्मेद्वारी घोषणा गर्ने क्रम पनि सुरू भएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र अन्य पदको लागि आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्ने क्रम सुरू भएको हो । दलहरूले औपचारिक रूपमा उम्मेद्वारको टुङ्गो लगाइनसकेको भएपनि आकांक्षीहरूले स्वतःस्फुर्त रूपमा उम्मेद्वारी घोषणा गर्ने तथा सरोकारवालाहरूसँग सुझाब माग्ने गरिरहेका छन् ।
सत्ता गठबन्धनमा चुनाबी तालमेल गर्ने भनिएपनि कुन पालिकामा कसरी तालमेल गर्ने र को उम्मेद्वार हुने भन्नेबारेमा भने अझै पनि टुङ्गो लागेको छैन । सकेसम्म स्थानीय तहबाटै उम्मेद्वार छनोटको काम सक्न गठबन्धनभित्रका दलहरूले सुझाब दिएका छन् । तर कुन मापदण्डका आधारमा उम्मेद्वार तोक्ने तथा कुन पालिका कसको भागमा पर्ने भन्ने टुङ्गो लागि नसकेकाले उम्मेद्वार छनोटको बिषय पेचिलो बन्दै गएको छ ।
यस्तै निर्वाचनमा एक्लै लड्ने बताएको नेकपा एमालेले पनि उम्मेद्वार छनोट गरिसकेको छैन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको लागि उम्मेद्वार दर्ताको समय तोकेको छ ।
प्रतिक्रिया