को बन्ला इमरान खानको उत्तराधिकारी ?

को बन्ला इमरान खानको उत्तराधिकारी ?


ग्लोब नेपाल
189
Shares

इस्लामावाद । विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् । तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए । शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो । शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए । गत साता एक अन्तवार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्र्दै आएका छन् ।

सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोहपछि शहबाजलाई जेलमा राखेर साउदी अरब निर्वासन गरिएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए । आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको प्रमुख बनेका थिए ।