मुलुकको अर्थतन्त्र डरलाग्दो नभएको मुख्य सचिव बैरागीको दावी

मुलुकको अर्थतन्त्र डरलाग्दो नभएको मुख्य सचिव बैरागीको दावी


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्दो नभएको दावी गरेका छन् ।

नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्ने पनि बताए । यसका लागि आयातमा देखिएको संकट समाधान गर्दै मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, साेही कार्यक्रमलाई सम्बाेधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्किन सङ्घर्षरत रहेको बताए । उनले बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेको बताए ।

विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई उपयुक्त व्यवहारिक उपाय निकालेर कार्यान्वयनमा लैजान आवश्यक रहेको समेत उनले बताए ।