मैले नेपाल छोडेको छैन,अरू बिस्तारित गर्दैछु

मैले नेपाल छोडेको छैन,अरू बिस्तारित गर्दैछु



अप्रिल १२, २०२२; आज म आफ्नो जन्मभूमी नेपालको एक साताव्यापी यात्रामा निस्कदैछु। यसो भन्दा मलाई हृदयदेखि नै एक किसिमको आनन्द अनुभूति भैरेहको छ। कतिपय अनुभूति शव्दमा व्यक्त गर्न सकिदैंन, मेरा लागि यो पनि त्यस्तै एक अनभूति हो।
म २००५ मा नेपालबाट अमेरिका आएको हुँ। यसबीचमा म २००७ र २०१५ गरी दुईपटक मात्र नेपाल यात्रामा जान सकें। बितेका १६ वर्षमा यो मेरो तेस्रो नेपाल यात्रा हो।
म चाहन्थें कि हरेक वर्ष आफ्नो जन्मभूमी पुगेर आफू जन्मेको माटो छोउँ, आफन्तहरूमाझ केही समय बिताउँ र केही गर्ने प्रेरणा लिएर फर्कौं। तर, यो मेरो प्रिय चाहना मात्र रह्यो, पूरा भएन। आज पनि मलाई यो चाहना पूरा गर्न नसकेकोमा एक किसिमको हुटहुटी हुन्छ। र, स्वभावत: यसले मलाई गम्भीर पनि बनाउँछ।
म अमेरिका आउँदा मेरो हातमा हरियो पासपोर्ट थियो। म हरेक कोणले नेपाली थिएँ, जन्मले, मनले, संस्कारले अनि नागरिकताले पनि नेपाली अर्थात् शत-प्रतिशत् नेपाली। २००७ मा नेपाल फर्कदा पनि सम्पूर्ण रूपमा म यस्तै नेपाली थिएँ। फरक एउटा थियो, मसँग अमेरिका बस्न पाउँने हरियो कार्ड थियो। यात्रामा निस्कदा हरियो पासपोर्टसँगै मैले त्यो पनि बोक्नुपर्थ्यो। नेपाल पस्दा त्यसको काम हुदैनथ्यो तर अमेरिका फर्कदा त्यसले भिसाको काम गर्थ्यो। ग्रिन कार्ड भनिने त्यो हरियो रङको कार्डले यता अमेरिकामा भने नेपाली नागरिककै हैसियतमा कानुनत: १० वर्ष बस्न मिल्थ्यो।
सन् २०१५ मा दोस्रोपटक म नेपाल जाँदा स्थिति फरक थियो। जन्म, मन, संस्कारले नेपाली नै रहे पनि मेरो परिचय फेरिएको थियो, नेपाली-अमेरिकी। यो परिचयका साथ म अमेरिकी नागरिक भएको थिएँ। हातमा हरियो रङको नेपाली राहदानीका ठाउँमा नीलो रङको अमेरिकी राहदानी थियो। र, पहिलोपटक म मेरो आफ्नै जन्मभूमिमा पस्न विदेशीको लाइनमा उभिएर भिसा शुल्क तिरेर पसेको थिएँ।
मेरो जीवनमा यसअघि कहिलै नभएको परिघटना थियो यो। स्वभावत: यसले मलाई भावुक त बनायो तर मलाई भावनामै बगिरहने छुट थिएन। म मिश्रित अनुभूति लिएर मेरो जन्मभूमी पसेँ।
त्यतिबेला मेरो जन्मभूमी २०७२ को महाभूकम्पको पीडामा थियो। म त्यही पीडामा केही मल्हम लगाउन सक्छु कि भनेर राहत कार्यक्रमको हिस्साका रूपमा नेपाल पुगेको थिएँ। मैले मेरो र मैले परिचालन गरेर उपलव्ध भएको स्रोत र साधनले भ्याएजति मल्हम लगाउन सकेँ। यस क्रममा भूकम्प प्रभावित क्षेत्रमै पुगेर पीडितहरूलाई राहत वितरण गरेको थिएँ। अहिले पनि मलाई आहतहरूका ती टिठलाग्दा घाउ र मैले लगाउन सकेको मल्हमको सम्झना भैरहेको छ।
यसपटक म यसअघिका दुई यात्राभन्दा फरक परिचयका साथ म मेरो जन्मभूमीको यात्रा गरिरहेको छु। म अत्यन्त विनम्रताका साथ यो भनिरहेको छु कि म यसपटक एक अमेरिकी राज्य विधायकका रूपमा मेरो जन्मभूमीको यात्रामा निस्कदैछु। म यस अर्थमा भाग्यमानी पनि छु कि यो परिचयका साथ नेपाल भ्रमण गर्ने म पहिलो र एक मात्र नेपाली-अमेरिकी हुँ। म यसलाई एक कोसेलीका रूपमा म मेरो जन्मभूमीलाई सादर अर्पण गर्न आतुर छु।
मलाई यो पनि थाहा छ कि मैले यो कोसेली अर्पण गर्दा मेरो नागरिकताको अवस्था परिवर्तन भएको छ, म नेपाली नागरिकबाट अमेरिकी नागरिक भएको छु, मेरो परिचय नेपालीबाट अमेरिकी-नेपाली भएको छ। हो, यसले मलाई एक किसिमको मिश्रित प्रतिक्रिया दिन्छ र भावुक पनि बनाउँछ। तर, म एक अमेरिकी विधायक पनि भएकाले मलाई भावनामा बग्ने छुट छैन, मैले सच्चाइलाई सार्वजनिक गर्नैपर्छ। म कुनै हिनताबोध बिना म जन्मले, संस्कारले र मनले नेपाली भए पनि नागरिकताले अमेरिकी हुँ भन्न चाहन्छु। यसो भनिरहँदा म मेरो जन्मभूमी नेपाल र मेरो देश अमेरिका दुबैप्रति इमान्दार भैरहेको छु। मैले भाग्यले पाएको मेरो जन्म देश नेपाल हो भने मैले रोजेर बनाएको देश अमेरिका हो। मैले यी दुबै महान देशहरूप्रति गर्व गर्न सक्नुपर्छ।
मलाई यसो भनिरहदा एउटा कुराको याद आउँछ, मेरी दिदी जतिबेला विवाह गरेर जन्मघरबाट कर्मघरमा जानु भएको थियो उहाँको परिस्थिति पनि मेरो जस्तै थियो। उहाँ विवाहका अनेक प्रकिया पूरा गरेर आफ्नो घर जानु भएको थियो, म पनि नागरिकताका अनेक प्रक्रिया पूरा गरेर अमेरिकी नागरिक भएको थिएँ। जसरी विवाहपछि उहाँको गोत्र, थर परिवर्तन भएको थियो, मेरो पनि लगभग त्यस्तै किसिमले नागरिक स्टाटस परिवर्तन भएको थियो। तर, मेरी दिदीका ती सबै स्टाटस परिवर्तन हुँदा पनि उहाँको माइतीघर कहिल्यै पराइ भएन, उहाँका लागि माइतीघरको ढोका सधैं खुल्ला भयो। मेरो लागि पनि नेपाल अब दिदीको माइतीघर जस्तै भयो। जसरी मेरी दिदीलाई विवाहपछि माइतीघरको विशेष स्थान रह्यो, अरू बढी प्रिय भयो त्यसरी नै मेरो लागि पनि मेरो जन्मदेश नेपाल पहिलाभन्दा अरू प्रिय र विशेष भएको छ।
हामी २१औं शताव्दीमा छौं, विश्व भूमण्डलीयकरणको युग हो यो। सूचना प्रविधिले संसार सानो गाउँजस्तो बनाइदिएको छ। यातायातको सुगमताले हामी संसारको एउटा कुनाबाट पनि अर्को कुनामा केही घण्टामै पुग्न सक्ने भएका छौं। डायस्पोरिक संसार ठूलो आकारमा फराकिलो हुँदैछ। समयक्रममा धेरै कुराको अभ्यास फरक हुँदा त्यसले परिभाषा पनि फरक बनाएको छ, कहीँ खुम्च्याएको छ, कहीँ तन्काएको छ। आज राष्ट्र अक्षांश र देशान्तरका धर्साहरूबाट माथि उठेर मान्छेलाई केन्द्रमा राखेर परिभाषित हुन थालेको छ। यही क्रममा अब देश पनि राहदानी जस्तो भएको छ। यसरी हेर्दा मेरो अहिलेको अवस्थालाई देश फेरेको भन्दा पनि राहदानी अर्को बनाएको भन्न पनि सकिन्छ।
यी सबै पृष्ठभूमी के का लागि थियो भने, हामी ‘वसुधैब कुटूम्बकम्’मा विश्वास गर्ने जातिका मानिस हौं। हाम्रा पुर्खाहरूले सयौ वर्ष अगाडि यही भनेर आज हामीले बाँचिरहेको विश्व भूमण्डलीयकरण युगको संकेत पहिलै गरिसकेका थिए। म त्यही संकेतका पाइला नाप्दै अमेरिका आइपुगेको हुँ।
मलाई के लाग्छ भने यसो गरेर म नेपाल छोडिरहेको छैन, नेपाल बोकेर बिस्तारित गरिरहेको छु। यस सन्दर्भमा म एउटा दृष्टान्त प्रस्तुत गर्न चाहन्छु, म पर्वतको थापाठानामा जन्में, त्यही हुर्के, बढें। जब एसएलसी पास गरेर क्याम्पस पढ्न पोखरा आएँ, मैले मेरो जन्मगाउँ थापाठाना र जिल्ला पर्वतको परिचय बोकेर नै आएँ। मलाई पोखरामा पर्वत थापाठानाको भनियो। त्यसपछि म उच्च शिक्षाका लागि काठमाडौं आएँ, त्यतिबेला मेरो त्यो परिचय कायम मात्रै थिएन, बिस्तारित भएको थियो, पोखराबाट आएको पर्वत थापाठानाको विद्यार्थी। जब म अमेरिका आएँ, मेरो ती सबै परिचय तपसिलमा रहेर म एक नेपाली भएँ। अहिले मेरो परिचय खुम्चिएको छैन, बरू अरू बिस्तारित भएर नेपाली-अमेरिकन भएको छ। अर्थात् मैले नेपालको विशेषण नेपाली कहिल्यै छोडेकै छैन, बोकेकै छु र निरन्तर रूमा अरू बढी बिस्तारित गरिरहेको छु।
आज अमेरिकामा मेरो परिचय पहिलो नेपाली-अमेरिकी विधायकका रूपमा हुन्छ। यसो भन्दा मेरो शीर गर्वले उचो हुन्छ। आज पनि मेरो कार्यालय-च्याम्बरमा नेपालको राष्ट्रिय झण्डा छ, भागवत गीता छ, सगरमाथाको तस्बिर छ। मैले गीता छोएर सपथ लिएको थिएँ। मैले अमेरिकाको सबैभन्दा पुरानो मेरिल्याण्ड राज्यको तल्लो संसदमा नेपालमा उत्पति भएको चाडका रूपमा दशैलाई परिभाषित गरेर दशै विधेयक पारित गराएँ। बाल्टिमोरमा दीपावलीलाई मान्यता प्रदान गरेर सार्वजनिक विदाको मान्यता दिलाएँ। मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणबाट मारिएका नेपाली विद्यार्थी सागर घिमिरेको नाममा संसदमा विधेयक प्रस्तुत गरेँ। मेरिल्याण्डको क्यापिटल बुकमा नेपाली अभिलेख राखेर दुई नेपाली संस्थालाई सहयोग जुटाएँ। मैले यी सबै काम सगौरव नेपाली-अमेरिकी विधायक भनेरै गरें र संसदले पनि त्यही रूपमा चिनेर पारित गरायो, कार्यान्वयनमा आए। मैले यी सबै कुरा यसकारणले भनिरहेको छु कि मैले कहीँ कतै नेपाली छोडेको छैन, नेपाली बोकेरै हिडिरहेको छु, बरू यसलाई अरू बिस्तारित गरिरहेकोछु।
यसरी नेपाल बिस्तारित गर्ने म एक्लो व्यक्ति हैन। न पहिलो हुँ, न अन्तिम। आज अमेरिकामा म जस्तो परिचय बोकेका नेपाली-अमेरिकीको संख्या लगभग ६० हजार पुगिसक्यो। र, यो क्रम बर्सेनी बढ्दो छ। नेपालको राष्ट्रिय परिप्रेक्ष्यबाट हेर्दा यो सुन्दर आँकडा हो कि हैन, त्यसमा वहस हुन सक्ला। तर, जे भए पनि यो आजको यथार्थ हो र यो यथार्थलाई हामी चाहेर पनि रातारात सच्याउन सक्ने परिस्थितिमा छैनौ। ‘बसुधैव कुटूम्बकम्’ मा विश्वास गर्ने हामी नेपाली बढ्दो विश्व भूमण्डलीकरणको युगमा छौं। त्यसैले मलाई यो सैद्धान्तिक रूपमा अब सच्याइ रहनुपर्ने विषय जस्तो पनि लाग्दैन।
म फेरि एकपटक २००६ तिरको कुरा गर्न चाहन्छु, जतिबेला मैले पहिलोपटक अवसरको देश भनिने अमेरिकी भुइँ टेकेको थिएँ। दिन बित्दै जाँदा मैले अमेरिका पनि बुझ्दै गएँ र एउटा निर्णयमा पुगें। त्यो के भने यदि अमेरिकी-नेपाली भएर अमेरिकामा बस्ने हो भने नेपालीले पनि यहाँको हरेक क्षेत्रको मूलधारमा समाहित हुनैपर्छ। त्यसमा पनि मूलधारको अमेरिकी राजनीतिमा समाहित हुन सकिएन भने समग्रतामा कहिल्यै अमेरिकाको मूलधारमा होइदैन। मेरो यही सोचाइले एक अभियानको जन्म लियो। म त्यसैलाई पछ्याउँदै अमेरिकी राजनीतिमा अगाडि बढ्दा यहाँ आइपुगेको हुँ।
म जुन मेरिल्याण्ड राज्यको विधायक छु, यो अमेरिकाकै सबैभन्दा पुरानो संसद हो। भर्खरै यो संसदको ४४४औं अधिवेशन सकिएको छ। यस्तो ऐतिहासिक संसदमा एक नेपाली-अमेरिकी विधायकका रूपमा २०१९ म प्रवेश गरेको मैले सँधै नै प्रजातन्त्र, समावेसीकरण, समतामुलक समाज, विविधता, मानवअधिकारलाई केन्द्रमा राखेर काम गरेको छु। मैले मेरो पहिलो कार्यकालको चार वर्षमा जर्ज वाशिंगटन र जेफरसन बसेको राज्य सदनमा बसेर १४ वटा कानुन बनाएँ, यो आफैंमा एक मानक उपलव्धी हो। सँगसँगै एक नेपाली-अमेरिकी सांसद हुँदा कति फरक पर्छ भन्ने चित्र प्रस्तुत भएको छ, यसलाई अमेरिकाको नेपाली समुदायले पनि बुझ्न थालेको छ र पछिल्लो समय अमेरिकाका हरेक राज्यमा नेपाली-अमेरिकीको राजनीतिक चासो र सहभागिता पनि बढेको छ। यसले म हिडेको बाटो सही रहेछ भन्ने सत्य सावित गरेको छ।
एक विधायकका रूपमा मेरो उपस्थितिले नेपाललाई हेर्ने अमेरिकी दृष्टिकोणमा पनि फरक पर्ने रहेछ। म आफैंले त्यसको अनुभव गर्ने मौका पाएको छु। विधायकलाई अमेरिकी विदेश विभागमा सहज पहुँच हुन्छ, कंग्रेसम्यान र सिनेटरहरूसँग उसको सहकार्य हुन्छ। त्यसैको परिणामस्वरूप कोरोना महामारीका बेला अमेरिको विदेश विभागसँग समन्वय गरेर ठूलो मात्रामा स्वास्थ्य सामग्री नेपाल पठाउन सकियो, यो क्रम अहिले पनि जारी छ। यसैगरी एमसीसी परियोजनाका बेला पनि नेपालको पक्षमा यथेष्ठ पैरवी गर्न सकियो। अहिले पनि नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउने पैरवी भैरहेको छ। कुनै पनि मूलको विधायक भयो भने सम्बन्धित देशका लागि सहयोग नीति बनाउँदा उसको सुझाव लिइन्छ। मेरो हकमा त भर्खरै मैले अमेरिकामा नेपाली समुदायको राजनीति सहभागितालाई लिएर विद्यावारिधि पनि गरेकाले मसँग एक विधायक र एक अनुसन्धानवेत्ता दुबैको हैसियत छ। यो विशेषज्ञ हैसियतका कारण पनि मेरा सुझावलाई अतिरिक्त महत्व दिइने गरेको अनुभव मलाई छ।
अमेरिकामा बढ्दो नेपाली जनसंख्यासँगै विभिन्न किसिमका समस्याहरू पनि बढ्दैछन्। खासगरी विभिन्नखाले दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दो छ। यसरी मृत्यु हुनेहरूको शव नेपाल पठाउन वा अमेरिकामै दाहन गर्न अत्यन्तै गाह्रो छ। मैले बितेको दुई वर्षमा मात्र १६ नेपालीको शव व्यवस्थापन गरेको छु। एक नेपाली-अमेरिकी विधायक हुनुको नाता मैले यसलाई आफ्नो कर्तव्य ठानेको छु र मैले दु:खमा परेका अमेरिकाभरिकै नेपालीका लागि यो मानवीय सहायता प्रदान गर्दै आएको छु। एक विधायक भएकाले मेरो कुरा आधिकारिक रूपमा सुनुवाइ हुन्छ; त्यसले सहयोग जुटाउन र व्यवस्थापन गर्न पनि सहज हुन्छ।
सारमा, एकजना मात्र नेपाली विधायक हुँदा पनि अमेरिकाको नेपाली समुदायलाई मात्र हैन, नेपाललाई पनि ठूलो सहयोग पुगेको छ। यो संख्या बढाउँदै जाँदा निश्चित पनि यसबाट नेपाल अरू बढी लाभान्वित हुनेछ। अमेरिकाको नेपाली समुदायलाई त्यो बाटोमा डोहोर्याउन म लागिपरेको छु।
यसपटक नेपाल यात्रामा निस्कदा म अलि बाँधिएको छु। यो मेरो नितान्त आफ्नो जन्भूमीको सद्भाव भ्रमण हो, निजी भ्रमण हो। यद्यपि, एक अमेरिकी विधायक भएकाले यसका आफ्नै प्रोटोकलहरू हुन्छन नै! अनुहारले, संस्कारले, भाषाले, मनले नेपाली भए पनि अमेरिकी विधायकका रूपमा नेपालमा रहँदा स्वभावत: फरक अनुभूति हुनछ होला, म त्यसका लागि उत्सुक र रोमाञ्चित पनि छु।
यसपटकको मेरो नेपाल बसाइ अत्यन्त छोटो छ, म ६ दिन मात्र नेपालमा हुन्छु। तीन महिनाको लामो संसद अधिवेशनको थकान आफ्नो ठाउँमा छ, साइने डाइन भनिने मध्यरातमा संसद अधिवेशन सकिएकै दिन म नेपाल लाग्दैछु। फर्के लगत्तै अर्को कार्यकालका लागि चुनावमा होमिनु छ। नियमित अध्यापन पेसामा फर्कनु छ। यी सबै व्यस्तता र बाध्यताले मैले चाहेर पनि यो यात्रालाई लामो बनाउन सकिन।
म यो यात्राका क्रममा पर्वत थापाठानास्थित आफ्नो जन्मघर जानेछु। मेरा हजुरबुबाले त्यही घरमा अन्तिमपटक दशैमा टीका लगाउँदै ‘नेपालको नाम राखेस्’ भन्दै आशीष दिनु भएको थियों। उहाँ यो संसारमा नहुनु भए पनि उहाँको आत्मा त्यही घर वरिपरि छ भन्ने मेरो विश्वास छ। म त्यो घरमा पुगेर भन्नेछु, ‘हजुरबुबा, म अमेरिकामा नेपाली-अमेरिकी विधायक भएँ, मैले त्यहाँ नेपालको नाम राख्न कुनै कसर बाँकि राखेको छैन।‘ हुन त यो एक किसिमको भावनाको कुरा हो। तर, मलाई लाग्छ, मेरो हजुरबुबाको आत्माले यो सुन्नेछ र मलाई अरू थप गर्न आशीर्वाद प्राप्त हुनेछ। मैले पहिला अमेरिका आउँदा ल्याएको माटो अलि पुरानो भएको छ, केही आलो माटो ल्याएर त्यसमा थप्नेछु। मलाई जहिले पनि त्यही माटोले केही गर्न प्रेरणा दिइरहेको हुन्छ।
यसपटकको मेरो यात्राको मूल ध्येय यही हो। यसबाहेक केही महत्वपूर्ण भेटघाटहरू हुनेछन्। त्यसका लागि मेरो कार्यालयले अमेरिकी विदेश विभाग र काठमाडौंस्थित अमेरिकी दूताबाससँग संयोजन गरेको छ। मैले मेरा नेपाली मित्रहरूमार्फत् त्यसका लागि अतिरिक्त प्रयत्न पनि गरेको छु। म विनम्रतापूर्क एक नेपाली अमेरिकी विधायकको भौतिक उपस्थिति ती महत्वपूर्ण भेटघाटहरूमा प्रस्तुत गर्नेछु। अमेरिकामा नेपाली परिचयलाई बिस्तारित गर्दै ‘नेपाल’लाई भिजिबल बनाइरहेको एक नेपाली सन्तानलाई प्रस्तुत गराउने छु।
म ठूला कुरा हैन, सानो काम गर्ने र त्यसैमा रमाउने एक अकिञ्चन भूइँमान्छे हूँ। पर्वतको थापाठानाको माटोमा जन्मी हुर्केको एक अबोध बालक जीवन-यात्राको क्रममा आज अमेरिकामा पुगेको हुँ। र, आज म जे बनेको छु, त्यो सबै नेपाली माटोको अभिप्रेरणा हो। म त्यसैका लागि कृतज्ञता व्यक्त गर्न पनि नेपाल जान लागेको हुँ।
अमेरिकामा रहेका आम नेपाली-अमेरिकीको प्रगति जोख्ने ढक मूलत: आर्थिक-भौतिक छ। म त्यसलाई अत्यन्तै सम्मान गर्छु। तर, म त्यो बाटो हिडिँन किनकि मलाई उही बाटो हिडेर फरक गन्तव्यमा पुगिन्छ भन्ने कुरामा कहिल्यै विश्वास भएन। त्यही विश्वासका कारण मैले अमेरिकामा फरक गन्तव्य निर्धारण गरें, फरक बाटोमार्फत् मैले त्यसलाई पछयाएँ। र, आज पनि म आफ्ना मानक उपलव्धीहसँगै प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको छु। म चाहन्छु, धेरैभन्दा नेपाली अमेरिकी यो बाटोमा हिडुन् र जतिसक्दो चाँडो नेपाली सुमदायलाई मूलप्रवाहमा समावेश गराउन योगदान दिउन्। किनकि, योभन्दा फरक बाटो हिडेर हामी र हाम्रा सन्तति अमेरिकाको मूलधारमा उभिन सक्दैनन्।
अहिले अमेरिकामा नेपाली-अमेरिकीको चौथो पुस्ता आइसकेको छ। अब यो पुस्ता लिने हैन, दिने ठाउमा पुगिसक्यो। उसले दिने भनेको आफ्नो मूललाई हो जसलाई अमेरिकी भाषामा ‘ब्याक कन्ट्री’ भनिन्छ। अमेरिकामा जुन समुदायको ब्याक कन्ट्री समृद्ध हुन्छ, उसको हैसियत नै फरक हुन्छ। हामी पनि हाम्रो हैसियत फरक बनाउन चाहन्छौं, नेपालबाट लिन हैन दिन चाहन्छौं ।
भनाइ नै छ, नसोध देशले तिमीलाई के दियो, सोच देशलाई तिमीले के दियौ? पर्वतको थापाठानामा जन्मेको एक नेपाली सन्तानले अमेरिकामा नेपालको परिचय बिस्तारित गर्यो र पहिलो नेपाली-अमेरिकी विधायक दियो। यसोभन्दा मलाई गर्वको अनुभूति हुन्छ। त्यही अनुभूति विनम्रतापूर्वक बाँढ्न म मेरो जन्मदेशको यात्रामा निस्कदैछु।