सत्तागठबन्धन दलबीच चुनावी तालमेलको आधार तयार

सत्तागठबन्धन दलबीच चुनावी तालमेलको आधार तयार

बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको उनले बताए ।

सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ ।

यसैगरी बैठकले विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने, गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार, स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागीलगायत आधार मान्ने बैठकको निर्णय छ । बैठकमा प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताहरू उपस्थित थिए ।