कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आउँदो बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्रसम्बन्धी छलफल हुने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आउँदो बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्रसम्बन्धी छलफल हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि नै महामन्त्री गगन थापा नेतृत्वको टोलीलाई घोषणापत्र बनाउने जिम्मा दिएको थियो । बैठकमा गठबन्धनसँग चुनावी तालमेलका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । हिजो चुनावी तालमेलबारे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बसेको थियो । बैठकले चुनावी गठबन्धनबारे सात आधार तयार पारेको छ ।

२०७४ सालमा विजयी माओवादी र समाजवादीका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने, २०७४ सालको निर्वाचनमा पाएको मतको मतभार, २०७४ सालमा विजयी नभएका अन्य दललाई पनि यथासक्य सहभागी गराउने, गठबन्धनबाहेक अन्य दल निर्वाचित स्थानमा गठबन्धनका दलले पाएको मतलाई आधार बनाउने, उक्त दलले पाएको मतभारलाई पनि आधार बनाउने, समाजवादीको हकमा बुँदा ४ मा उल्लेखित आधारबाहेक ऊ मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने, जनसमर्थनलाई पनि ध्यान दिने र चुनावी तालमेल गठबन्धनबीच मात्र हुने आधार तय गरेको हो ।