एक महिने अभियान सम्पन्न, मतदाता उत्साहित

एक महिने अभियान सम्पन्न, मतदाता उत्साहित


ग्लोब नेपाल
81
Shares

ओखलढुंगा । नेपाली कांग्रेसले २९ फागुनबाट सुरु गरेकाे ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान उत्साहपूर्वक सम्पन्न भएको छ । ओखलढुंगा सहित देशैभर भएको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान हिजाे चैत २९ गते समापन भएको हो ।

जिल्लामा अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले अभियानले कांग्रेसको पक्षमा माहौल बनाउन सहयोग गरेको बताएका छन् । विपक्षी दलहरूले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषय र खासगरी एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यती काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिसनका खोप आउन नसकेको कुरा, कोरोनाकालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताबीचमा उजागर भएकाे खनालले बताए ।

उनले कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयको नेतृत्वमा कांग्रेस नेता कार्यकर्ताहरु पालिका र वडाहरुमा पुग्दा जनताले अब देशको मुल पार्टी कांग्रेस बन्नुपर्ने बताएकाे उल्लेख गरे ।

‘सो अभियान अन्तर्गत तत्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी दुई–दुई पटक गरेको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको ओखलढुंगा कांग्रेसको निष्कर्ष छ’ – उनले भने ।

एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सो अभियान सफल भएको पनि कांग्रेसको दावी छ । ‘हाम्रो आफ्नो माग अनुरुप अमेरिकाले ५०० मिलियन डलर (६० अर्ब रुपैया भन्दाबढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साख पनि अभिबृद्धि गरेको छ’ खनालले भने- ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन्, नेपालको अन्तर्राष्ट्रिय साःख अभिबृद्धि भएको छ ।’

अभियानको दौडानमा सयौँको संख्यामा अन्य पार्टी परित्याग गरि नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताउदै उनले कांग्रेस प्रति जनताको आकर्षण बढेको बताए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सरस्वति बजिमयले अभियान अन्तर्गत पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्न आग्रह गरेको बताइन् । अघिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गरेको पनि उनले उल्लेख गरिन् ।

चुनाव तोकिएको समयमा हुने भन्दै उनले जिल्लामा कांग्रेसलाई जिताउन सबै एकजुट भएर चुनावको तयारीमा जुट्न आग्रह गरिन् ।

अभियानको समापन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बजिमय, जिल्ला सभापति खनाल, उपसभापति कमल तामाङ, नवराज केसी, सचिव अजय लुईटेल र राजकुमार ढुंगाना, सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठलगायत कांग्रेसका जिल्लास्थित नेता सहित सयौँ कार्यकर्ताको सहभागिता थियो ।