ओखलढुंगामा उम्मेदवारका आकांक्षी धेरै छन्

ओखलढुंगामा उम्मेदवारका आकांक्षी धेरै छन्

पार्टी भित्र आन्तरिक विवाद गर्नुपर्ने कारण छैन । पार्टीका सबै साथीहरु एकजुट भएर निर्वाचनमा होमिनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।



कांग्रेस र ओखलढुंगा पर्याय हुन् । झन्डै पाँच दर्जन सहिदको रगतले सिञ्चिएको ओखलढुंगा कांग्रेस पछिल्लो समय आन्तरिक विवादमा रुमलियो, जसको परिणाम अघिल्लो निर्वाचनलाई विश्लेषण गरे पुग्छ । तर, त्यो अवस्था अहिले नरहेको जिल्ला सभापति तेजन खनालको भनाइ छ । ‘कांग्रेसले लोकतान्त्रिक विधि आत्मसाथ गरेकाले आन्तरिक विवाद पार्टीको अधिवेशनपछि सकिएको छ’, सभापति खनालले भने ।

स्थानीय निर्वाचनले राजनीतिक माहोल तातेको छ । यो रापबाट ओखलढुंगा जिल्ला पनि अछुतो छैन । स्थानीय तहको निर्वाचनमा जिल्लाले युद्धस्तरमा तयारी गरिरहेको जानकारी सभापति खनालले दिएका छन् । समग्र ओखलढुंगाको राजनीति, स्थानीय तह निर्वाचनको तयारी लगायत विविध विषयमा ग्लोब नेपालले सभापति खनालसँग गरेको कुराकानी–

० समग्र ओखलढुंगामा कांग्रेसको अवस्था कस्तो छ ?
– ओखलढुंगामा कांग्रेसको अवस्था राम्रो छ । ५७ जना सहीदले बलिदान गरेको ओखलढुंगा, कांग्रेसको पहिलेदेखि नै राम्रै ठाउँ हो । कांग्रेसको जिल्ला भनेर परिचित छ– ओखलढुंगा । गत स्थानीय निर्वाचनमा धेरै स्थानमा कांग्रेस पराजित हुँदै गर्दा बहुमत स्थानमा कांग्रेसले नै जितेको थियो । विविध कारणले प्रदेश र संघीय निर्वाचनमा चाहिँ कांग्रेस पराजित भयो ।

० ‘घर–घर जाउँ, कांग्रेस जिताउँ’ अभियानको प्रभाव कस्तो रह्यो ?
– ‘घर–घर जाउँ कांग्रेस जिताउँ’ अभियानले धेरै ठाउँमा कांग्रेस प्रवेशको लहर ल्याएको छ । दुईजना एमाले जिल्ला परिषद् सदस्य कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका वडा सदस्य तथा सचिवहरु कांग्रेसमा प्रवेश गरेका छन् । यसले गर्दा कांग्रेसमा धेरै उत्साह र उमंग ल्याएको छ । सबै कार्यकर्ताहरु घर–घर, टोल र बस्तीमा पुगेका छन् । यो अभियानले कांग्रेसको क्रेज बढेको छ ।

० अभियानकै प्रभावले हो–कांग्रेसमा प्रवेशको लहर चलेको ?
– अभियान केन्द्रको कार्यक्रम हो, त्यसभन्दा अघि हामीले जिल्लामा विभिन्न तहको कार्यक्रम आयोजना गरिरहेका थियौं । नेकपा एमाले सरकारको अनियमिता, ज्यादतीबाट दिक्क भएर नेपाली कांग्रेसमा आकर्षित हुनेहरु पनि धेरै छन् ।

० गठबन्धनको प्रकृया कहाँ पुग्यो ?
– गठबन्धनको कुरा पनि सँगसँगै चलिरहेकै छ । विभिन्न तहका छलफलहरु भइरहेका छन् । सबै कुराको मैले समन्वय गरिरहेको छु । केही कुराहरु नमिलेका होलान्, तर ती सबै कुरा मिल्छन् । यसलाई हामी छिटोभन्दा छिटो टुंग्याउनेतिर लागेका छौं ।

० यस अघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था कस्तो थियो ?
– ओखलढुंगाको बहुमत स्थानीय तहमा कांग्रेसले जितेको हो । यसपटक हामी अझ धेरै स्थानमा विजयी हुने छौं । गठबन्धन पनि भएको हुनाले सबैतिर हामी नै विजयी हुन्छौं भन्नेमा ढुक्क छौँ ।

० स्थानीय निर्वाचनको तयारी कस्तो छ ?
– जिल्लाको समन्वय समितिको बैठक बसेर सबै संयन्त्र प्रयोग गरेर निर्वाचनमा होमिने निर्णय भइसकेको छ । वडादेखिकै कमिटीहरु सक्रिय भएर निर्वाचनमा जाने तयारी अवस्थामा छन् । उम्मेदवारका आकांक्षी धेरै भएकाले थोरै समस्या होला कि भन्ने लागेको छ । ठूलो पार्टी, पुरानादेखि नयाँ पुस्तासम्मले नेतृत्वको अपेक्षा राखेका छन् । पार्टी निर्णय कार्यकर्ताले मान्छन् भन्ने मलाई विश्वास छ ।

० टिकट वितरण लगायतका समितिहरु गठन भइसके ?
– हाम्रो संसदीय समितिले पूर्णता पाइसकेको छ । संयन्त्रको बैठक बैशाख २ गते बस्नेछ । सिट बाँडफाँड टुंग्यो भने हामी उम्मेदवार चयनतिर लाग्छौं । त्यसपछि हामी उम्मेदवार लिएर जनताको घरदैलोमा पुग्छौं ।

० जनताको अपेक्षा के छ ?
– विकास निर्माण नै जनताको अपेक्षा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारमा जनताको पहुँच यहाँका जनताको अपेक्षा हो । कांग्रेसप्रति जनताको आकर्षण भएको हुनाले उहाँहरुको त्यो अपेक्षाप्रति कांग्रेस गम्भीर बन्ने छ । नेकपा एमालेले त्यत्रो ठूलो अवसर पाउँदा पनि देशलाई बर्वाद बनायो । एमालेको शासनकालमा जनताका धेरै असन्तुष्टि छन्, नेपाली कांग्रेसले नै स्थानीय, प्रदेश र केन्द्रमा नेतृत्व गर्नुपर्छ भन्ने जनताको चाहना हो । जनताको यो चाहना र भरोसालाई उच्च सम्मान गर्नुपर्छ ।

० कांग्रेस भित्रको आन्तरिक किचलो कस्तो छ ?
– हामीले गत मंसिरमा अधिवेशन सम्पन्न गरेका हौं । निर्वाचन प्रकृयाबाट नेतृत्व छनोट भएको हो । निर्वाचनमा पराजित हुनुभएका साथीहरुले लोकतान्त्रिक विधि र प्रकृयालाई सम्मान गर्नुभएको छ । हामीले पनि सबैलाई समेटेर लैजाने प्रयास गरेका छौं । यसले गर्दा एकताको वातावरण बनेको छ । पार्टी भित्र आन्तरिक विवाद गर्नुपर्ने कारण छैन । पार्टीका सबै साथीहरु एकजुट भएर निर्वाचनमा होमिनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।