समाजका एकथरि मान्छे हात धोएर मलाई गलत सावित गर्न लागिपरेका छन् । थाहा छैन, सत्य हार्दा उनिहरुको जित कसरी हुन्छ । म निश्चिन्त छु, म गतल छैन । हुन त आजकाल म सहि छु भन्दै हिडिरहन जरुरी ठान्दिनँ । तैपनि पाइला पाइलामा तँ गतल होस् भन्न आइपुग्छन् । जवाफ फर्काउदिनँ । हरकोहीलाई जवाफ दिनै पर्छ भन्ने पनि मलाई लाग्दैन । जवाफ त मैले पनि अहिलेसम्म पाएकी छैन ।
तिमी तिम्रो मानो खान्छौ, म मेरो । तिम्रो भोगाई फरक छ । मेरो भोगाई पनि फरक छ । फेरि के को प्रतिस्पर्धा ? के को बैमनस्यता ? के को दुस्मनी ? हामी सबै हाँसीखुसी जीउन सक्ने समाज निर्माण गर्न सकिदैन ? आखिर तिमीले चाँही के लिएर फर्किन्छौ त धर्तीबाट ? यसमा केहि फरक छैन । तिम्रो र मेरो अन्तिम गन्तव्य पनि फरक छैन ।
बाँच्न देउ मलाई । तिमीलाई जस्तै मलाई पनि बाँच्नु छ । बारम्बार किन टोकिरहन्छौ ? नेपालको कानुनमा महिलालाई धेरै अधिकार भयो रे । जतिबेला बलात्कार भयो तत्काल प्रतिकार गर्नु पथ्र्यो रे । तत्काल प्रतिकार गर्दा म बाँच्न सक्थेँ ? म बँच्न सक्थे ? अझै कति छन् तिम्रा कानुनका शर्त अनि नियमहरु ? तिम्रो कानुनको हदम्याद पार ग¥यो होला, तर समयको हदम्याद बाँकी नै छ । म न्यायको प्रतिक्षामा छु ।
मेरो गुनासो यो समाजसँग पनि छ । समाज नेतृत्व गर्नेहरुले अपराधको संरक्षण किन गर्छन् ? मलाई थाहा छैन । म मिडियामार्फत मेडिकल डाक्टरद्धारा प्रताडित महिला हुँ भनेर बारम्बार भनिरहेकै छु । तर, त्यसका निकायहरु सबै चुपचाप बसिदिन्छन् । दुई शब्द खर्च गरेर पिडितप्रति सहानुभूति दर्शाउन पनि आवश्यक ठान्दैनन् । मौनता पनि त समर्थन हो नि, होइन र ? आफ्ना घरका प्रिय नारीमा यस्तै प¥यो भनेपनि यस्तै मौनता साँध्छन् होला त ? मलाई चिच्याएर सोध्न मन छ ।
त्यो धैर्यताको बाँध टुट्यो भने, त्यो सहनशिलता विष्फोट भयो भने के यो समाजले थेग्न सक्ला ? बेलैमा सोचोस् । यो क्रन्दन मिश्रित चेतावनी हजारौँ गुमनाम पिडितको साझा आवाज हो ।
प्रलोभन देखाएर शरीरसँग खेल्नु बलात्कार नै हो, उमेर जति सुकै किन नहोस् । कति महिला त बलात्कार भएको समेत थाहा पाउदैनन् । म निकै बुझ्ने हुँ भन्नेलाई समेत आफु बलात्कार भएको थाहा पाउन १९ बर्ष लागेछ । त्यति चाल पाउन्जेल बलात्कारले हदम्याद नाघिसकेछ । राज्यले मलाई र अरु थुप्रैलाई अन्याय गरिरहेको छ । हदम्यादको कानुन तत्कालै संसोधन हुन जरुरी छ । कति चेलीहरु म जस्तो बच्चा जन्माई सक्दा पनि बिद्रोह गर्ने हिम्मत जुटाउन सक्दैनन् । किन ? यो संसारलाई थाहा छ । कानुनको हदम्यादले न्यायको हत्या गरेको छ ।
म मलाई बलात्कार गर्ने मान्छे चिनाईदिन्छु । के मलाई न्याय दिन सक्नुहुन्छ ? मलाई कठै भन्नु पर्दैन । चुकचुकाउनु पर्दैन । मलाई सहानुभुति होईन, कानुनले तोकेको हदम्याद नाघेको अपराधमा न्याय चाहिएको छ । यो जिम्मा मैले समाजका भद्रभलाद्मीलाई छोडेकी छु । अब म चुप रहन्न । म बोल्नु पर्छ, मेरो लागि अनि अन्यायमा परेका ती तमाम नारीका लागि । म चिच्याउन थालिसकँे वस् ! समाजले मलाई सुनिदिनु पर्छ ।
तिमी आंकलन पनि गर्न सक्दैनौ कि कति चेलि यहि समाजको डरले बोल्न सक्दैनन् । अन्याय अत्याचारबाट बच्न मुख खोल्न सक्दैनन् । कम्तिमा मुख खोल्नेलाई त साथ देउ । बुझ्ने प्रयास मात्र भएपनि गरिदेउ न । अब यस्ता बियोगान्त कथा बन्द हुनु पर्छ । हामीले समाजको नयाँ नक्सा कोर्नु पर्छ ।
कयौंपटक मलाई मेरो श्रीमान्को बारेमा प्रश्न गरिन्थ्यो । कहाँ छन् ? को हुन ? मैले स्नातकोत्तर पास गरेकी छु तर खै किन हो पाठ्यक्रमका प्रश्न भन्दा जटिल र अप्ठ्यारा हुन्थे जिन्दगीका यस्ता प्रश्न मलाई । अनि प्रत्येक पटक यस्ता प्रश्न तेर्सिदा म एउटा काल्पनिक श्रीमान् खडा गर्न बाध्य हुन्थे । मेरो काल्पनिक श्रीमान् कहिले बिदेश गएका हुन्थे, कहिले पढ्न त कहिले कमाउन । मलाई बलात्कार गरि कानुनी फन्दाबाट उम्किएको व्यक्तिलाई म कतिपटक आफ्नो जीवनमा जिवन्त बनाउँ ? म भित्रभित्रै टुक्रिन्थेँ ।
यस्तै घटना, दवाव बिच चित्कारिदै म बर्बराउन थाल्छु । म माथि अपराध भएकै छ । मैले अहिलेसम्म सहेँ । अझै मन बुझाउँला तर कयौँ छोरी चेलीहरुको लागि म जस्ताले बोल्नै पर्छ । यो आवाज म एक्लैको होइन, अन्यायमा परेर पनि बोल्न नसकेका ती तमाम पिडितहरुको संयुक्त आवाज हो । केहि दिन अगाडि मैले एक अनलाईन पत्रिकामा मेरो कहानी प्रकाशित गरेको थिएँ । मलाई इन्बक्समा दर्जन भन्दाबढि मेसेज आएका छन् । ती सबैमा आफु बलात्कृत भएर पनि बर्षौदेखि चुपचाप बस्नु पर्ने बाध्यता रहेको दर्दनाक कहानीहरु छन् ।
म लेख्न सक्छु । बोल्न सक्छु । तैपनि मेरो कतै सुनुवाई हुँदैन । उकुसमुकुस हुन्छ । झन् ती बर्षैँदेखि मन भित्रै दवाएर बस्ने भित्र कस्तो आँधी चलिरहेको होला ? यो समाजले कल्पना पनि गर्न सक्दैन । त्यो धैर्यताको बाँध टुट्यो भने, त्यो सहनशिलता विष्फोट भयो भने के यो समाजले थेग्न सक्ला ? बेलैमा सोचोस् । यो क्रन्दन मिश्रित चेतावनी हजारौँ गुमनाम पिडितको साझा आवाज हो ।
प्रतिक्रिया