धामीको यातनाबाट महिलाको मृत्यु

धामीको यातनाबाट महिलाको मृत्यु

मृतक रञ्चुला साउदले हाल प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडकमा माटो भर्ने काम काम गर्दै आएकी थिइन्


ग्लोब नेपाल
189
Shares

कञ्चनपुर । अस्पताल र क्लिनिकको उपचार महँगो हुँदा धामी झाँक्रीको भर परेकी एक श्रमिकको धामीको क्रूरतापूर्ण कार्यबाट कञ्चनपुरमा ज्यान गएको छ । त्यसरी धामीको यातनाबाट प्राण गुमाउनेमा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउँद रेहकी छन् ।

अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीको संख्या निरन्तर बढेपनि श्रमजीवीहरु अन्धविश्वासी र क्रूर धामी वा झाँक्रीको शरणमा जानुमा आर्थिक अभाव नै प्रमुख कारण रहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी रञ्चुलालाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा पुग्ने गरेका थिए ।

झारफुके यातनाबाटै क्रममा साउँदको गएराति मृत्यु भएको हो । मृत्युको घटनाबारे हिजो बिहान मात्रै प्रहरीलाई जानकारी भएको थियो । स्थानीयका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थिए । प्रहरीले झारफुकमा संलग्न तीनजनासहित ७ जनालाई पक्राउ गरेको छ । असंगठित मजदुरका रुपमा गुजारा गर्दै आएकी मृतक रञ्चुला साउदले हाल प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडकमा माटो भर्ने काम काम गर्दै आएकी थिइन् ।

चैत २७ गते साँझ कामबाट फर्किएपछि बिरामी परेकोमा उपचारका लागि निर्दयी धामीको शरणमा सुम्पिनाले कुटपिटबाटै उनको ज्यान गएको स्थानीयले बताएका छन् । स्वास्थ्य बीमा जस्ता कुनै पनि कार्यक्रमले विपन्नलाई समेट्न नसक्नाले पनि मूलधारको उपचार प्रणाली भन्दा झारफुकमा पहुँच बढेको देखिएको छ ।