पीडितले बयान फेर्दैमा पल शाहले उन्मुक्ति नपाउने

पीडितले बयान फेर्दैमा पल शाहले उन्मुक्ति नपाउने

कानुन व्यवसायी शुकदेव काफ्लेका अनुसार पीडितले बयान फेर्दैमा अभियुक्तले उन्मुक्ति पाउँदैन । मिसल, कानुन र प्रमाणका आधारमा अभियुक्त सजायको भागिदार हुन्छन् ।


ग्लोब नेपाल
2.6k
Shares

काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका ‘नायक’ पूर्णविक्रम शाह भनिने पल शाहको मुद्दामा पीडितले बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा बकपत्र लिन क्रममा पीडितले बयान फेरेको मुद्दामा संलग्न एक कानुन व्यवसायीले बताए । उनले आफूमाथि बलात्कार नभएको, जबरजस्ती बयान दिन लगाएको बकपत्र दिने क्रममा बताएकी छन् ।

पीडितले बयान फेरेपछि पल शाहका फ्यानहरु खुशी देखिएका छन् । पीडितको यो बयान आएपछि पल शाह तुरुन्तै जेलबाट छुट्ने अनुमान धेरैले गरेका छन् । तर कानुन व्यवसायी शुकदेव काफ्लेका अनुसार पीडितले बयान फेर्दैमा अभियुक्तले उन्मुक्ति पाउँदैन । मिसल, कानुन र प्रमाणका आधारमा अभियुक्त सजायको भागिदार हुन्छन् ।

सर्वोच्च अदालतमा स्थापित नजिर र कानुनको सिद्धान्तअनुसार पीडितले बकपत्रमा बयान फेर्दैमा अभियुक्तले उन्मुक्ति पाउँदैन । पछिल्लो समय जारी भएको अपराध संहिताअनुसार पीडितले बयान फेरे पनि अभियुक्तलाई तुरुन्तै उन्मुक्ति दिन मिल्दैन । ९० प्रतिशत मुद्दा पीडितकै पक्षमा छ । यदि न्यायाधीशलाई निर्दोष लाग्यो भने मात्र अभियुक्तले उन्मुक्ति पाउने कानुन व्यवसायी काफ्लेले बताए । त्यो १० प्रतिशत सम्भावना रहन्छ ।

यदि अभियुक्तले उन्मुक्ति पाए, पीडित भनिएकालाई कारबाही हुने सम्भावना रहन्छ । केही साता अघिमात्र जिल्ला अदालत अछामले बलात्कारकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको नजिर छ ।

शाह यतिबेला जिल्ला अदालत तनहुँको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि गत चैत १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुठो आश्वासन दिई पहिले पनि पटकपटक जबरजस्ती करणी गरेको भन्ने कुरा पीडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिएको अदालतको आदेशमा उल्लेख छ ।