सत्ता गठबन्धनको बैठक दिउँसाे २ बजे बस्ने

सत्ता गठबन्धनको बैठक दिउँसाे २ बजे बस्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको उम्मेद्वारका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् ।

मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे सत्ता गठबन्धनको बैठक सरेकाे छ। आगामी बैठक दिउँसाे २ बजे बस्ने तय भएकाे छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ११ बजे बस्ने भनिएकाे बैठक २ बजेलाई सारिएकाे हाे।

सञ्चार तथा सूचना प्रबिधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा आज पुनः बैठक बसेर सहमति जुटाउने बताए ।

कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको दावी गरे । आज २ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने उनले बताए । सबै महानगर र उपमहानगरबारे वस्तुनिष्ठ छलफल भइरहेको भन्दै मन्त्री कार्कीले मंगलबार सुखद परिणाम आउने दावी गरे ।

तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । गठबन्धनले सो मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेको छ भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ ।