संगठन निर्माणसँगसँगै पढाइमा अब्बल बन्न विद्यार्थी नेतालाई देउवाको आग्रह

संगठन निर्माणसँगसँगै पढाइमा अब्बल बन्न विद्यार्थी नेतालाई देउवाको आग्रह

मलाई प्रधानमन्त्री बनाइदेउ भनेर मैले कसैलाई भनेको छैन्, बिशिष्ठ परिस्थितिमा गठबन्धन सरकार बनेकाे हाे । कांग्रेस पार्टीलाई सरकारमा ल्याउनु मेरो के गल्ती भयो ? के विगारेको छु मैले देउवाको प्रतिप्रश्न थियो ।


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संगठन निर्माणसँगसँगै पढाइमा पनि अब्बल बन्न नेपाल विद्यार्थी संघका नेताहरुलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले पढाइमा फेल हुने अनि कसरी देशको नेता हुने भन्ने प्रश्न गर्दै देशको भविष्यकाे जिम्मेवारी नेविसंघकै नेताहरुको काँधमा आउने निश्चित भएकाले विद्यार्थीहरु जिम्मेवार बन्नुपर्ने बताए ।

नेविसंघको राजनीतिवाटै आफू प्रधानमन्त्री बनेको बताउदै देउवाले भने –‘तपाईहरु पनि बन्नोस्, म सबैभन्दा खुसी हुम्ला नि ! संगठन गर्नोस् संगठन ।’ तपाईहरुको अर्जुनदृष्टि नेबिसंघलाई बलियो बनाउने हुनुप-यो, मेरो त यो अन्तिम हो, अव पार्टी सभापति बन्न विधानले नै दिदैन देउवाको भनाइ थियो ।

२७ सालमा स्थापना भएको र स्वर्णीम इतिहास रहेको नेबिसंघ आज क्याम्पस र विश्वविद्यालयका युनियनहरुमा किन हारिरहेको छ भन्ने प्रश्न गर्दै देउवाले गाउँगाउँमा रहेका स्कुलहरुमा संगठन निर्माणमा जुट्न आग्रह गरे । । नेपाल भनेको गाउँ नै गाउँको देश हो त्यसैले गाउँका स्कूलमै नेविसंघको इकाइ बनाउन लाग्नोस् देउवाको सुझाव थियो ।

नेविसंघको पदाधिकारी चयन गर्न आफुलाई कांग्रेस नेताहरुले दबाब दिने गरेको उल्लेख गर्दै सभापति देउवाले भागबण्डा र झगडा मात्रै होइन छिटो अधिवेशन गरेर निर्बाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गर्न अध्यक्ष दुजाङ शेर्पालाई निर्देशन दिए ।
फरक प्रसँगमा देउवाले मलाई प्रधानमन्त्री बनाइदेउ भनेर आफूले कसैलाई पनि नभनेको बताउदै बिशिष्ठ परिस्थितिमा गठबन्धन बनाएर सरकारको नेतृत्व गरिरहेको बताए ।

गठबन्धन बनेपछि संघीय सरकारको नेतृत्व मात्र नभएर प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पनि कांग्रेसले प्राप्त गरेको कुरा नभुल्न प्रधानमन्त्री देउवाले कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरे । कांग्रेस पार्टीलाई सरकारमा ल्याउनु मेरो के गल्ती भयो ? के विगारेको छु मैले देउवाको प्रतिप्रश्न थियो । गठबन्धन टुटाउने षडयन्त्र भइरहेले यसलाई आम चुनावसम्मै जोगाएरै लैजानुपर्नेमा देउवाको जोड थियो ।

अहिले संविधानअनुसार एक्लै कसैको बहुमत नआउने भएकाले गठबन्धन बाध्यता रहेको समेत देउवाको भनाइ थियो । गठबन्धन भनेपछि ‘गिभ एण्ड टेक’ त हुन्छ नि ! त्यसमा सबै लचक बन्नुपर्छ देउवाले भने ।