गठबन्धनभित्रबाटै अपमान भयो, विद्रोह गछौंः माधव नेपाल

गठबन्धनभित्रबाटै अपमान भयो, विद्रोह गछौंः माधव नेपाल

'हामी अपमान सहनका लागि जन्मिएका होईनौं । अपमानको विरूद्धमा विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।'


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान गर्ने काम भइरहेको बताए ।

‘कतिपय ठाउँमा अरूको शक्तिको अवमूल्यन गर्दै अलि अपमानपूर्ण व्यवहार भएकाे छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मिएका होईनौं । अपमानको विरूद्धमा विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।’ सबै दलभित्र उम्मेदवार बन्न तानातान भइरहेको भन्दै चुनावमा पराजित हुने स्थिति भएकाहरूले समेत गजबले जित्छु भन्दै घुर्की लगाइरहेको बताए ।

समाजवादीले अरूले भनेको आधारमा नभएर त्यहाँको वस्तुस्थितिको राम्रोसँग अध्ययन गरेर उम्मेदवार छनोट गर्ने उनले बताए । ‘त्यहाँको कमिटीले जनताको भावनालाई बुझेर अनि पार्टीको प्रभावलाई ध्यानमा राखेर, व्यक्तित्वलाई ध्यानमा राखेर, यसले पुर्‍याएको योगदानलाई ख्याल गरी, उसको लोकप्रियताको पनि ध्यान दिएर मात्रै अघि बढ्नु पर्छ ।’ नेपालले भने ।

पाँच दलभित्र जतिमा सहमति हुन्छ त्यही सहमतिको आधारमा र नभएको खण्डमा मित्रताको आधारमा स्वस्थ प्रतिस्पर्धामा जाने बताए । ‘जति सहमति हुन्छ त्यही आधारमा जान्छौँ । हामीले सहमति गरिसकेका छौँ की पाँच दलकोबाहेक अरु दलहरूसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । सहमति हुन सकेन भने मित्रताको आधारमा स्वस्थ्य प्रतिस्पर्धामा जाने भन्ने टुंगो लगाएका छौँ ।’ अध्यक्ष नेपालले भने ।