बैशाख ११ बाट उपत्यकावासीलाई मेलम्ची पानी

बैशाख ११ बाट उपत्यकावासीलाई मेलम्ची पानी


ग्लोब नेपाल
567
Shares

काठमाडौं । मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा वितरण गर्ने तयारी गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनपछि आयोजनाले पानी वितरणको तयारी थालेको हो ।

पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिएका थिए । मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी हिजाे मंगलबार राति सुन्दरीजलमा आइपुगेसँगै मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका थिए । काठमाडौं उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्नसमेत उनले आग्रह गरे ।

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनःनिर्माण गरिने बताए । मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने तयारी गरिएको छ ।

यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो ।